निर्वाचन बिथोल्ने प्रयास विफलः देशभरका २३ स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज
काठमाडौं– प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान जारी रहँदा सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले देशभरका विभिन्न २३ स्थानमा शंकास्पद वस्तु (होक्स) राखिएको पाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा यस्ता वस्तुहरू फेला परेका हुन्।
फेला परेका ती सबै शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) पारिसकेको छ। प्रहरीका अनुसार काठमाडौंका २ स्थानका साथै ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बागलुङ, बाँके, कपिलवस्तु, बर्दिया र कञ्चनपुर लगायतका जिल्लामा यस्ता वस्तुहरू भेटिएका थिए।
![]() |
![]() |
![]() |
|---|
प्रहरी प्रवक्ताका अनुसार यी वस्तुहरू वास्तविक बम नभई निर्वाचनको समयमा जनमानसमा त्रास फैलाउन राखिएका ‘होक्स’ (नक्कली बम) मात्र हुन्। शंकास्पद वस्तु डिस्पोज गरिएसँगै रोकिएका स्थानहरूमा पुनः मतदान सुचारु भइसकेको छ। सुरक्षा निकायले देशभरिको सुरक्षा व्यवस्था चुस्त रहेको भन्दै ढुक्क भएर मतदान गर्न अपिल गरेको छ।



