पार्टीका यी शीर्ष नेता देखिने छैनन सदनमा
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। यस निर्वाचनले नेपालको संसदीय राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। लामो समयदेखि संसदमा प्रभाव जमाउँदै आएका धेरै शीर्ष नेता यसपटक पराजित भएपछि उनीहरू सदनमा देखिने छैनन्।

गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रतिनिधिसभा विघटन गरेसँगै यो निर्वाचन सम्पन्न भएको हो। प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि मतदान भएको थियो।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देशव्यापी जनलहर देखिएको छ। बालेन्द्र शाहलाई वरिष्ठ नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ ठूलो सफलता हासिल गरेको छ।
![]() |
![]() |
![]() |
|---|
यसपटकको निर्वाचनमा संसदीय अभ्यासमा लामो अनुभव भएका धेरै शीर्ष नेताहरू पराजित भएका छन्। नेपाली कांग्रेस का सभापति गगनकुमार थापा, महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा र प्रकाश रसाइली स्नेही पराजित भएका छन्। साथै वरिष्ठ नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, जगदीश नरसिंग केसी, प्रकासशरण महत, एनपी साउँद र महालक्ष्मी उपाध्याय ‘डिना’ पनि यसपटक पराजित भएका छन्।
त्यसैगरी नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली सहित उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू रघुवीर महासेठ र लेखराज भट्ट पनि चुनावमा पराजित भएका छन्। सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, महेश बस्नेत र राजन भट्टराई तथा वरिष्ठ नेताहरू ईश्वर पोखरेल, देवराज घिमिरे र प्रदीपकुमार ज्ञवाली पनि पराजित भएका छन्।
नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल भने विजयी भएका छन्। तर सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, महिन्द्रराय यादव, राजेन्द्रप्रसाद पाण्डे र शक्ति बस्नेत भने पराजित भएका छन्।
Image Source: © https://mulpatra.com
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र वरिष्ठ नेता कमल थापा पनि चुनाव हारेर संसद् बाहिरिने भएका छन्।
विसं २०४८ देखि निरन्तर संसदीय उपस्थिती जनाउँदै आएको नेपाल मजदुर किसान पार्टी समेत यसपटक संसद् बाहिरिने अवस्थामा पुगेको छ। सो पार्टीका नेता प्रेम सुवाल सहित कुनै पनि उम्मेदवार विजयी हुन सकेनन्।
त्यस्तै मधेस आन्दोलनपछि उदाएका मधेसवादी दलका शीर्ष नेताहरू पनि यस निर्वाचनमा पराजित भएका छन्। जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपाल का अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टी का अध्यक्ष सिके राउत र आम जनता पार्टी का अध्यक्ष प्रभु साह पनि चुनावमा पराजित भएका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



