मातृका यादवलाई विजयी घोषणा गर्न नेकपाको माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा १ बाट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी घोषणा नगरेको भन्दै आपत्ति जनाएको छ ।
धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो । आचारसंहित विपरित रहेको भन्दै निर्वाचन आयोगले फागुन १८ गते निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो ।

साह अदालत गएको र साहको उम्मेदवारी खारेजी भएको कारण घन्टी चिह्नमा परेको मतलाई सदर वा बदर के मानेर गणना गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग सुझाव माग गरेको छ । अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै आयोगले निर्वाचन परिणाम सार्वजनिक गरेको छैन।
तर नेकपाले केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै विजयी भइसक्दा पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको जनाएका हुन् ।
![]() |
![]() |
![]() |
|---|
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग स्वयम्ले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय हो । कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन ।’
नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय गर्ने नेकपाको विश्वास छ।



