इरानको नयाँ सर्वोच्च नेतामा चयन भएका मोज्तबा खामेनी ?
काठमाडौं– मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको छ। यो निर्णय असेम्बली अफ एक्सपट्र्सले गरेको हो। इरानको सरकारी सञ्चारमाध्यमले यसबारे जानकारी दिएका छन्।

८८ सदस्यीय धार्मिक संस्था असेम्बली अफ एक्सपट्र्सको मुख्य जिम्मेवारी देशको सर्वोच्च नेता चयन गर्नु हो। संस्थाले जारी गरेको वक्तव्य सरकारी टेलिभिजनमा समाचार बाचकले पढेर सुनाएका थिए।
वक्तव्यमा भनिएको छ, “युद्धको अत्यन्त गम्भीर परिस्थितिमा र हाम्रो संस्थामाथि शत्रुहरूबाट प्रत्यक्ष धम्की आइरहेको अवस्थामा पनि नेतृत्व चयन र घोषणा प्रक्रिया एक क्षणका लागि पनि रोकिएको छैन।”
![]() |
![]() |
![]() |
|---|
वक्तव्य अनुसार असेम्बली अफ एक्सपट्र्सको सचिवालय कार्यालयमाथि बम आक्रमण हुँदा त्यहाँ कार्यरत केही कर्मचारी र सुरक्षा टोलीका सदस्यहरू मारिएका थिए। त्यसपछि एंकरले “अल्लाहु अकबर, अल्लाहु अकबर, खामेनी नै रहबर” भन्ने नारा लगाएका थिए।
अली खामेनीको अमेरिका र इजरायलको हवाई आक्रमणमा मृत्यु भएपछि इरानको नयाँ सर्वोच्च नेताबारे व्यापक चर्चा सुरु भएको थियो। धेरैले मोज्तबा खामेनी पनि मारिएका हुन सक्ने आशंका गरेका थिए।
केही दिनसम्म उनको अवस्थाबारे कुनै खबर आएको थिएन। तर मार्च ३ मा इरानको सरकारी मिडियाले मोज्तबा जीवित रहेको र देशका “महत्त्वपूर्ण विषयहरूमा परामर्श तथा समीक्षा” मा संलग्न रहेको जनाएको थियो।
Image Source: © https://mulpatra.com
मोज्तबा खामेनी को हुन् ?
मोज्तबा खामेनेईको जन्म ८ सेप्टेम्बर १९६९ मा इरानको उत्तर–पूर्वी सहर मशहदमा भएको थियो। उनी अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन्। उनले तेहरानको अलावी विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका थिए।
इरानी मिडियाका अनुसार १७ वर्षको उमेरमा उनले इरान–इराक युद्धका क्रममा केही अवधिसम्म सेनामा सेवा गरेका थिए।
सन् १९९९ मा उनी धार्मिक अध्ययनका लागि कुम सहर पुगेका थिए, जुन शिया धर्मशास्त्र अध्ययनको प्रमुख केन्द्र मानिन्छ। तर उनले लामो समयसम्म धार्मिक पोशाक नलगाएको र ३० वर्षको उमेरपछि मात्रै मदरसा अध्ययन सुरु गरेको विषय पनि चर्चा भएको थियो।
हाल मोज्तबा मध्यस्तरका धर्मगुरु मानिन्छन्। पछिल्लो समय इरानका केही मिडिया र अधिकारीहरूले उनलाई ‘आयतुल्लाह’ भनेर सम्बोधन गर्न थालेका छन्। केही विश्लेषकहरूले यसलाई उनको धार्मिक हैसियत बढाएर नेतृत्वका लागि योग्य देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



