इरानले हर्मुज जलमार्गमा ठप्प गर्दा विश्व बजारमा तेलको मूल्य ११० डलर नाघ्यो
काठमाडौं– अमेरिका र इजरायलले इरानविरुद्ध जारी राखेको हवाई आक्रमणका कारण विश्वभरका बजारमा गम्भीर असर परेको छ ।

द्वन्द्व चर्किएसँगै हर्मुज जलमार्ग हुँदै हुने तेल ढुवानी अवरुद्ध हुने डरले विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल ११० डलरभन्दा माथि पुगेको छ। यसले विश्वभरका उपभोक्ता र व्यवसायीहरूका लागि ऊर्जाको लागत बढ्ने चिन्ता थपिएको छ ।
सोमबार बिहान एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब २४ प्रतिशतले बढेर ११४.७४ डलर र नाइमेक्स लाइट स्वीटको मूल्य २६ प्रतिशतभन्दा बढीले बढेर ११४.७८ डलर पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|
विश्वको कुल तेल आपूर्तिको करिब एक पाँचौँ हिस्सा हर्मुज जलमार्गबाट ढुवानी हुने भए पनि युद्ध सुरु भएयता उक्त मार्गबाट हुने यातायात लगभग ठप्प भएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेयता तेलको मूल्य १०० डलर नाघेको यो पहिलो पटक हो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेयता कच्चा तेलको मूल्यमा करिब ५० प्रतिशतले वृद्धि भइसकेको छ ।
इरानले बदला स्वरूप हर्मुज जलमार्गमा ढुवानी लगभग ठप्प पारेको छ, जसले विश्वको कुल तेल आपूर्तिको करिब एक पाँचौँ हिस्सालाई जोखिममा पारेको छ । जलमार्ग बन्द हुँदा ओमान, संयुक्त अरब इमिरेट्स र कुवेत लगायतका ओपेक सदस्य राष्ट्रहरूले तेल भण्डारणमा चाप बढेपछि उत्पादन कटौती गर्न बाध्य भएका छन् ।
Image Source: © https://mulpatra.com
यसका साथै कतार, साउदी अरेबिया र कुवेत लगायतका खाडी मुलुकका ऊर्जा केन्द्रहरूमा भएका आक्रमणले आपूर्ति शृङ्खला थप बिग्रिएको छ ।
तेलको मूल्यवृद्धिको असर एसियाली सेयर बजारमा देखिएको छ । सोमबार बिहान जापानको निक्केई २२५ मा ७ प्रतिशत, दक्षिण कोरियाको कोस्पीमा ८ प्रतिशत र हङकङको हाङसेङ इन्डेक्समा करिब ३ प्रतिशतले गिरावट आएको छ। वाल स्ट्रिटका एस एण्ड पी ५०० र नास्डाक फ्युचर्समा पनि ठूलो नोक्सानी देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक खतरा हटाउनका लागि यो छोटो अवधिको मूल्यवृद्धि सामान्य भएको बताएका छन् ।
यता अमेरिकी ऊर्जा सचिवले भने इन्धनको मूल्यवृद्धिलाई अस्थायी भनेका छन् । तर, इरानको रिभोल्युसनरी गाड्र्सले यदि अमेरिका र इजरायलले आक्रमण जारी राखेमा तेलको मूल्य २०० डलर पुग्न सक्ने चेतावनी दिएको छ ।
यस्तै कतारी ऊर्जा मन्त्री साद अल–काबीले क्षेत्रीय उत्पादकहरूले उत्पादन रोक्नुपर्ने अवस्था आउन सक्ने र मूल्य १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार तेलको मूल्यमा हुने प्रत्येक १० प्रतिशतको वृद्धिले मुद्रास्फीतिलाई ०.४ प्रतिशतले बढाउने र विश्व आर्थिक वृद्धिदरलाई ०.१५ प्रतिशतले घटाउने गर्दछ । अर्थविद्हरूले यदि तेलको यो उच्च मूल्य केही सातासम्म कायम रहेमा विश्व अर्थतन्त्रका लागि यो ठूलो चुनौती हुने चेतावनी दिएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



