ट्रम्पको कूटनीति र चेतावनीले विश्व बजारमा तेलको मूल्यमा हलचल, उर्जामा गिरावट
काठमाडौँ– विश्वव्यापी राजनीतिक तनाव र कूटनीतिक सरगर्मीका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति र मध्यपूर्वको बदलिँदो परिस्थितिका कारण तेलको मूल्यमा एकाएक पहिरो गएको हो ।
अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर कायम भएको छ । यस्तै, अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्यमा पनि करिब ९ प्रतिशतको गिरावट आउँदै प्रति ब्यारल ८८.६० डलरमा झरेको छ ।
![]() |
![]() |
![]() |
|---|
यो गिरावटको मुख्य कारण राष्ट्रपति ट्रम्पले इरानसँगको जारी द्वन्द्व छिट्टै अन्त्य हुने भनी दिएको आश्वासनलाई मानिएको छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मध्यपूर्वको तनावबारे गहन छलफल भएको र युद्ध चाँडै टुङ्गिने विश्वास व्यक्त गरेपछि लगानीकर्ताहरूमा सकारात्मक उत्साह देखिएको हो ।
यद्यपि, कूटनीतिक वृत्तमा यो समाधान एक साताभित्रै भइहाल्नेमा भने केही संशय बाँकी नै छ । यसैबीच, राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानलाई कडा चेतावनी समेत दिएका छन् ।
उनले रणनीतिक रूपमा विश्वकै महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ मा इरानले तेल ढुवानीमा कुनै पनि प्रकारको अवरोध सिर्जना गरे अमेरिकाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रत्याक्रमण गर्ने बताए ।
Image Source: © https://mulpatra.com
ट्रम्पका अनुसार यदि इरानले विश्वको तेल आपूर्ति मार्गमा हस्तक्षेप गरे अमेरिकाले उसमाथि पहिले गरिएका आक्रमणभन्दा २० गुणा बढी घातक हमला गर्नेछ ।
विश्वभरको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा यही समुद्री मार्ग भएर जान्छ । इजरायल र इरानबीचको बढ्दो सैन्य तनावका कारण यो मार्ग जोखिममा पर्दा विश्वभर इन्धनको मूल्य अचाक्ली बढ्ने त्रास फैलिएको थियो ।
ट्रम्पले इरानका ती लक्ष्यहरूलाई निशाना बनाउने उद्घोष गरे, जसलाई नष्ट गरेपछि इरान पुनः एक राष्ट्रका रूपमा उठ्न नसक्ने उनले दाबी गरे । उनले चेतावनीको शैलीमा त्यहाँ मृत्यु, आगो र ठूलो विनाशको वर्षा हुन सक्ने उल्लेख गरे पनि आफू त्यस्तो परिस्थिति नआओस् भन्ने पक्षमा रहेको र शान्तिका लागि प्रार्थना गरिरहेको बताए ।
यो घटनाक्रमले विश्व राजनीति र अर्थतन्त्रको निकट सम्बन्धलाई पुनः पुष्टि गरेको छ । ट्रम्पको कूटनीतिक दबाबले एकातिर बजारलाई राहत दिएको छ भने अर्कोतिर मध्यपूर्वमा अनिश्चितताको बादल अझै मडारिरहेको देखिन्छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



