इलाममा चैत २० देखि तेस्रो रेडपाण्डा महोत्सव

इलाममा चैत २० देखि तेस्रो रेडपाण्डा महोत्सव
  • १० चैत्र २०८२, मंगलवार १८:०५

काठमाडौँ । इलामको सन्दकपुर गाउँपालिकामा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । यसअघि दुई संस्करण सम्पन्न भइसकेका यस महोत्सवले पूर्वी नेपालको पर्यापर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

mulpatra

महोत्सव सन्दकपुर गाउँपालिका–४ कालपोखरी क्षेत्रमा केन्द्रित हुनेछ । आयोजक समितिका संयोजक सनम राईका अनुसार ‘रेडपाण्डा ट्रेल’ अर्थात् माईपोखरीदेखि जौबारीसम्म फैलिएको करिब ४० किलोमिटर लामो पदमार्गलाई केन्द्रमा राखेर कार्यक्रम गरिनेछ । सो पदमार्गमा रेडपाण्डासहित विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताको अवलोकन गर्न सकिनेछ ।

माईपोखरी (रामसार क्षेत्र), ढापपोखरी हुँदै सन्दकपुर र जौबारी जोड्ने यो पदमार्ग पर्यटनका दृष्टिले निकै सम्भावनायुक्त मानिन्छ । करिब ११ करोड लागतमा निर्माण गरिएको मार्गमा १५ भन्दा बढी पर्यटकीय गन्तव्यहरू समेटिएका छन् । गाउँपालिका अध्यक्ष तुलाराम गुरुङका अनुसार यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सव केन्द्रित गरिनेछ ।

mulpatra mulpatra mulpatra

चार दिनसम्म चल्ने महोत्सवमा पदयात्रा, जङ्गल सफारी, चराचुरुङ्गी अवलोकन, आदिवासी जनजातिको संस्कृति प्रदर्शन, गुराँस अध्ययनलगायत गतिविधि समावेश गरिनेछन् । साथै सगरमाथासहित ६० भन्दा बढी हिमश्रृङ्खलाको दृश्यावलोकन गर्ने अवसर समेत पर्यटकले पाउनेछन् । आयोजकले महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सन्दकपुर गाउँपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकार र विभिन्न पर्यटन संस्थाको सहकार्यमा हुने महोत्सवले स्थानीय पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सीमावर्ती भारतबाट समेत पर्यटक आकर्षित गर्ने लक्ष्यसहित महोत्सवलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना रहेको जनाइएको छ ।