४२ किमि सुरुङ्ग रहने गरी रक्सौल–काठमाण्डु रेलमार्ग परियोजनाको डीपीआर तयार

४२ किमि सुरुङ्ग रहने गरी रक्सौल–काठमाण्डु रेलमार्ग परियोजनाको डीपीआर तयार
  • ११ चैत्र २०८२, बुधबार ०९:५०

काठमाडौं । नेपाल–भारतबीच बहुप्रतिक्षित रक्सौल–काठमाण्डु रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। भारतीय रेल मन्त्रालयअन्तर्गत Konkan Railway Corporation Limited ले १३६ किलोमिटर लामो रेलमार्गको फाइनल लोकेसन सर्भे सम्पन्न गर्दै डीपीआर तयार गरेको जनाएको हो। सन् २०१८ अप्रिल ७ मा भएको द्विपक्षीय सहमति अनुरूप भारतको लगानीमा विद्युतीय रेलमार्ग निर्माण गर्ने योजना अघि बढाइएको हो।

mulpatra

तयार डीपीआर अनुसार प्रस्तावित रेलमार्गमा करिब ४२ किलोमिटर सुरुङ्ग निर्माण गरिनेछ भने १२४ वटा ठूला पुल रहनेछन्। ब्रोडगेज प्रविधिमा निर्माण गरिने प्रस्ताव गरिएको यस रेलमार्गमा प्रतिघण्टा १२० किलोमिटर गतिमा रेल सञ्चालन गर्न सकिने उल्लेख छ। रुट रक्सौलबाट सुरु भएर जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी, साठीखेल हुँदै काठमाण्डुको चोभारसम्म पुग्नेछ।

परियोजनाको अनुमानित लागत करिब ३ अर्ब अमेरिकी डलर (झण्डै साढे ४ खर्ब रुपैयाँ) पुग्ने आँकलन गरिएको छ। वित्तीय प्रतिफल दर ४.८१ प्रतिशत मात्र देखिएकोले यसको आर्थिक व्यवहारिकतामाथि प्रश्न उठे पनि आर्थिक प्रतिफल दर १४.३ प्रतिशत रहेकोले दीर्घकालीन रूपमा लाभदायक हुने विश्लेषण गरिएको छ। लागत असुल हुन करिब २५ वर्ष लाग्ने अनुमान गरिएको छ भने परियोजनालाई व्यवहारिक बनाउन कार्गो ढुवानीलाई प्राथमिकता दिने रणनीति अघि सारिएको छ।

mulpatra mulpatra mulpatra

हाल परियोजना कार्यान्वयनका लागि लगानी मोडालिटी, नीतिगत स्वीकृति र दुवै देशबीच प्राविधिक सहमति आवश्यक रहेको छ। नेपालले स्ट्यान्डर्ड गेज नीति लिएको भए पनि भारतले ब्रोडगेज प्रस्ताव गरेकाले यस विषयमा सहमति हुन बाँकी छ। परियोजना सफल कार्यान्वयन भएमा नेपाल र भारतका राजधानी क्षेत्र जोड्ने पहिलो रेल सञ्जाल बन्नेछ, जसले व्यापार, पर्यटन तथा क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।