अमेरिकामा ट्रम्पविरुद्ध देशभरि प्रदर्शन
अमेरिकाभरि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध व्यापक विरोध प्रदर्शन चर्किएको छ। शनिबार देशका अधिकांश ठूला शहरहरूमा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। ‘नो किङ्स’ नाम दिइएको यो अभियान अन्तर्गत आयोजित प्रदर्शनको तेस्रो चरणमा नागरिकहरूले सरकारको नीति तथा निर्णयप्रति असन्तुष्टि जनाएका छन्। न्यूयोर्क, वाशिङ्टन डीसी र लस एन्जलसलगायत प्रमुख शहरहरूमा प्रदर्शन उल्लेखनीय रूपमा देखिएको छ।

आन्दोलनकारीहरूले विशेष गरी ट्रम्प प्रशासनको विदेश नीति, विशेषतः इरानसँगको सम्भावित द्वन्द्वप्रति चर्को विरोध गरेका छन्। साथै संघीय आप्रवासन सम्बन्धी कडा कारबाही र देशभित्र बढ्दो महँगीले जनजीवनमा पारेको असर पनि विरोधका मुख्य एजेन्डा बनेका छन्। आयोजकहरूले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने माग गर्दै नीतिगत सुधारको आवश्यकता औंल्याएका छन्।
आयोजक समूहका अनुसार अमेरिकाका सबै ५० राज्यका ६०० भन्दा बढी स्थानमा प्रदर्शनको तयारी गरिएको थियो। दिनभरि विभिन्न स्थानमा भएका र्यालीहरूमा उल्लेख्य सहभागिता देखिएको छ। यसअघि पनि ‘नो किङ्स’ अभियानअन्तर्गत लाखौं नागरिकले सहभागिता जनाइसकेका थिए, जसले आन्दोलनलाई क्रमशः व्यापक बनाउँदै लगेको देखिन्छ।
![]() |
![]() |
![]() |
|---|
‘नो किङ्स’ आन्दोलनको सुरुआत गत वर्ष जुनमा ट्रम्पको जन्मदिनको अवसर पारेर गरिएको थियो। पहिलो चरणमै अनुमानित २ देखि ३ लाख नागरिक सहभागी भएका थिए। त्यसयता निरन्तर विस्तार हुँदै आएको यो अभियान अहिले राष्ट्रव्यापी विरोधको रूप लिँदै गएको छ। विश्लेषकहरूका अनुसार यस्तो प्रदर्शनले आगामी राजनीतिक परिस्थिति र नीतिगत निर्णयहरूमा प्रभाव पार्न सक्ने संकेत देखिएको विभिन्न सन्चार माध्यमहरुले जनाएका छन्।



