स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई भन्यो– हप्तामा दुईदिन बिदा हुँदा पनि सेवामा असर नपर्ने गरी व्यवस्था मिलाउनू
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन लगातार सार्वजनिक बिदाको व्यवस्थाबीच पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई विशेष व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम अबदेखि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिइने व्यवस्था लागू भएको छ । उक्त व्यवस्थाले ‘स्वास्थ्य सेवामा असर नपरोस्’ भन्ने उद्देश्यले आवश्यक निर्देशन जारी गरिएको हो ।
विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन भनिएको छ । साथै, कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एकदिन बिदा दिने गरी दुईदिन बिदा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । यदि सो व्यवस्था सम्भव नभए सट्टा बिदा उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
यसैगरी, प्रादेशिक अस्पतालहरूमा समेत सोही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा नागरिकलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै बाधा नपर्ने गरी आवश्यक समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।



