सरकारको निर्णय विपरित शैक्षिक क्यालेण्डर प्रभावित हुने भन्दै तारकेश्वर गाउँपालिकाले आइतबार विद्यालय विदा नदिने
काठमाडौं । संघीय सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि उत्पन्न शैक्षिक अन्योलका बीच तारकेश्वर गाउँपालिकाले भने आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले आइतबार पनि विद्यालय पूर्ववत् सञ्चालन गर्न निर्देशन दिएका हुन्।

गाउँपालिकाले शनिबार जारी गरेको चार बुँदे निर्देशनमा हालै तयार भइसकेको नयाँ शैक्षिक सत्र २०८३ को वार्षिक शैक्षिक क्यालेण्डरलाई ध्यानमा राख्दै आइतबार बिदा नदिने स्पष्ट गरिएको छ। संघीय सरकारको निर्णयअनुसार सातामा दुई दिन बिदा दिँदा पठनपाठनका लागि आवश्यक समय अपुग हुने र क्यालेण्डर प्रभावित हुने निष्कर्षसहित यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताएका छन्।
संघीय सरकारले वैशाख १५ गतेपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन गर्ने र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय तहमा शैक्षिक तालिका प्रभावित हुने अवस्था देखिएको छ। यसैलाई मध्यनजर गर्दै गाउँपालिकाले वैशाख २ देखि १५ गतेसम्म विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको छ। यस अवधिमा बुक फ्री डे, सीप विकास, मनोपरामर्श, योग तथा ध्यानजस्ता कार्यक्रम सञ्चालन गरिनेछ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै, शिक्षकहरूबीच शैक्षिक योजना निर्माण, अनुभव आदानप्रदान र प्रभावकारी शिक्षण विधिबारे छलफल गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ। वैशाख १५ देखि २१ गतेसम्म भर्ना अभियान सञ्चालन गरी वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गरिनेछ।
गाउँपालिकाले सातामा दुई दिन विद्यालय बन्द गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा नकारात्मक असर पर्ने, पाठ्यक्रम समयमै पूरा गर्न कठिन हुने र शैक्षिक गुणस्तर खस्किने चिन्ता व्यक्त गरेको छ। साथै, इन्धन बचतका लागि गरिएको संघीय निर्णय गाउँपालिकाभित्रका विद्यालयहरूमा लागू गर्दा खासै प्रभाव नपर्ने पनि उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले समेत दुई दिने बिदाले पाठ्यक्रम पूरा गर्न समस्या हुने, सिकाइ उपलब्धिमा गिरावट आउने र विद्यार्थीहरूमा मोबाइल प्रयोग बढ्ने जस्ता जोखिम बढ्ने बताएका छन्। अभिभावकहरू पनि बालबालिकाको हेरचाहमा थप चुनौती आउने भन्दै चिन्तित देखिएका छन्।
Image Source: © https://mulpatra.com
यद्यपि, गाउँपालिकाभित्रका अन्य सरकारी कार्यालयहरू भने संघीय सरकारकै नीति अनुसार शनिबार र आइतबार बन्द रहनेछन्। ती कार्यालयहरू हप्ताका बाँकी दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
गाउँपालिकाले आफ्नो निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक तथा सम्बन्धित निकायलाई जिम्मेवारी दिएको छ भने नियमित अनुगमनसमेत गर्ने जनाएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



