कांग्रेसमा क्रियाशीलबारे नोकझोक, महामन्त्रीद्वयले पारे स्पष्ट
काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताका विषयमा शीर्ष नेताहरूबीच देखिएको मतभेद सतहमा आएको छ । पार्टीका सभापति गगन कुमार थापाले पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेपछि आज महामन्त्रीद्वयले त्यसलाई सच्याउँदै खारेजी होइन अध्यावधीक गर्ने बताएका छन् ।

जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा बोल्दै सभापति थापाले निर्वाचनपछिका सबै पुराना सदस्यता स्वतः खारेज भइसकेको दाबी गर्दै नयाँ प्रणालीमार्फत सदस्यता वितरण गरिने बताएका थिए। उनले वैशाख १ गतेदेखि ‘जरा अभियान’ सुरु गर्दै वडा तहबाटै संगठन पुनर्गठन गर्ने योजना सार्वजनिक गरेका थिए।
तर, थापाको उक्त अभिव्यक्तिप्रति पार्टीका नेता पूर्णबहादुर खड्काले कडा प्रतिक्रिया दिएका छन्। कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै खड्काले क्रियाशील सदस्यता कसैले पनि खारेज गर्न नसक्ने स्पष्ट पारे। उनले क्रियाशील सदस्यता केवल औपचारिकता नभई पार्टीप्रति व्यक्तिको योगदान र निरन्तरताको प्रमाण भएको उल्लेख गर्दै वैधानिक व्यवस्था बाहेक त्यसलाई खारेज गर्ने अधिकार कसैलाई नभएको बताए।
![]() |
![]() |
![]() |
|---|
यसैबीच विवाद चर्किँदै गएको अवस्थामा पार्टीका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले स्थिति स्पष्ट पार्ने प्रयास गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै “क्रियाशील सदस्यता खारेज हुँदैछ” भन्ने कुरा भ्रमपूर्ण र भ्रामक प्रचार मात्र भएको बताएका छन्।
महामन्त्रीद्वयका अनुसार पार्टीले सदस्यता खारेज गर्न खोजेको नभई त्यसलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन अद्यावधिक अभियान सुरु गरिएको हो। उनीहरूले नयाँ प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने लक्ष्य लिएको बताएका छन्।
उनीहरूले सबै पुराना सदस्यहरूलाई समयमै सदस्यता नवीकरण गर्न तथा नयाँ इच्छुकहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेका छन्। साथै, यस प्रक्रियाबाट पार्टीभित्र अनुशासन, उत्तरदायित्व र एकता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



