कांग्रेसको वैधता गगन थापा नेतृत्वलाई
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा गगन थापा नेतृत्वलाई वैधता दिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मानेको हो। यससँगै विगत तीन महिनादेखि चलिरहेको पार्टीभित्रको विवाद कानुनी रूपमा टुंगिएको छ।

सर्वोच्चले आफ्नो फैसलामा चार मुख्य आधार प्रस्तुत गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले निर्वाचन प्रक्रियामा सहभागिता जनाई राजनीतिक वैधता हासिल गरिसकेको, निर्वाचन आयोगले कानुनी प्रक्रिया अनुसार निर्णय गरेको, देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल समाप्त भइसकेको तथा आयोगको निर्णयमा कुनै कानुनी त्रुटि नदेखिएको निष्कर्ष अदालतले निकालेको छ। अदालतले आयोगको निर्णय अन्तिम हुने कानुनी व्यवस्था उल्लेख गर्दै हस्तक्षेप गर्न आवश्यक नदेखिएको पनि स्पष्ट पारेको छ।
यसअघि निर्वाचन आयोगले पनि गगन थापा पक्षलाई आधिकारिकता दिएको थियो भने देउवा पक्ष त्यसविरुद्ध सर्वोच्च पुगेको थियो। विवादकै बीच थापा पक्षले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि झन् तनाव बढेको थियो। अब सर्वोच्चको अन्तिम फैसलासँगै कांग्रेसभित्रको नेतृत्व विवाद समाप्त भई पार्टी गतिविधि एकीकृत रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।
![]() |
![]() |
![]() |
|---|



