रबि पछि परराष्ट्रमन्त्री भारत भ्रमण जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि नयाँदिल्ली जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणमा भारत जान लागेका हुन्।

परराष्ट्रमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसहित विभिन्न उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीच पछिल्लो समय देखिएका द्विपक्षीय चासोका विषय तथा नयाँ सरकारका प्राथमिकताबारे भ्रमणमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पनि अनुरोध पठाएका छन्। दुवै देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा व्यापारिक सहकार्य, कनेक्टिभिटी विस्तार र पारवहनसँग सम्बन्धित विषयमा पनि कुराकानी हुने तयारी गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलवे, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान सञ्चालन लगायतका विषयले प्राथमिकता पाउने जनाइएको छ। साथै लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालनको विषयपछि उत्पन्न सीमा विवाद र द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास हटाउने दिशामा पनि नेपाल र भारतबीच संवाद हुने अपेक्षा गरिएको छ।



