बालेनले सुकुम्बासीलाई कुकुर र चरा जति मान्छेपनि नठानेको गुनासो
काठमाडौं– काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीका पीडितले आफूहरूलाई अमानवीय व्यवहार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बस्ती खाली गराउन शुक्रबार एक दिनको मात्रै समय दिएपछि उनीहरूले सञ्चारकर्मीसँग यस्तो बिलौना गरेका हुन् ।

‘सरकारले सोचेर गरेको हो भने पहिले व्यवस्थापन गरेर हामीलाई यहाँबाट हटाएको भए हुन्थ्यो । कुकुर र चराचुरुङ्गीले त बच्चाको व्यवस्था गर्छ । बासको व्यवस्था गर्छ । हामी त मान्छे हौँ,’ एक महिलाले भनिन्, ‘हामी सकेर, भएर, पुगेर यो गन्हाउने ठाउँमा बसेका होइनौँ । बालेन धनीको मात्रै हो कि गरिबको पनि हो ?’
अर्की एक महिलाले आफू छटपटीमा रहेको भन्दै डोजर लगाएर मारिदिन आग्रह गरिन् । ‘हामीलाई वैकल्पिक व्यवस्था नभएपछि यहाँ बस्नु बाध्यता भएको हो । यस्तो पीडा दिनुभन्दा हामीलाई सरकारले डोजर लगाएर मारिदिओस्,’ ती महिलाले भनिन्, ‘हामी र हाम्रा बच्चा हिजोदेखि तनावमा छौँ । कसैले खानासमेत खान सकेका छैनन् ।’
![]() |
![]() |
![]() |
|---|
अर्की एक सरिता राईं नाम गरेकी महिलाले लामो समयदेखि बसे पनि सरकारले उचित व्यवस्था नगरेको दुःखेसो गरिन् । ५८ सालयता बसेको क्षेत्रमा सरकारले विकल्पबिना हटाउँदा आफूहरू पीडामा रहेको उनको भनाइ छ । सरकारले शनिबार र आइतबार थापाथली, सिनामंगल, शंखमुल टेकुसहितका सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएको थियो । प्रहरी लगाएर माइकिङ गरेपछि कतिपय सुकुम्बासी वैकल्पिक बासको खोजीमा लागेका छन् । कोही विरोधमा उत्रिएका छन् ।
सरकारले तत्काल होल्डिङ सेन्टरमा राखेर आश्रय दिने र त्यहीँ वास्तविक सुकुम्बासीको पहिचान गरेपछि नागार्जुनको अपार्टमेन्टमा सार्ने तयारी गरेको छ । यसअघि २०६९ सालमा नागार्जुनमा २ सय २४ फ्ल्याटको अपार्टमेन्ट सुकुम्बासीलाई राख्नैको लागि बनाइएको थियो । तर यसअघिका सरकारले न त्यहाँ सुकुम्बासीलाई लान सके, न सुकुम्बासी नै जान माने ।



