Close

Recent Posts

युवाहरूको पुनर्जागरण भेलाले माग्यो ओलीको राजीनामा

युवाहरूको पुनर्जागरण भेलाले माग्यो ओलीको राजीनामा
  • २० बैशाख २०८३, आईतवार ०७:३७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्व परिवर्तनको माग चुलिँदै जाँदा युवा नेताहरूले काठमाडौंमा ‘पुनर्जागरण भेला’ आयोजना गर्दै अध्यक्ष केपी शर्मा ओली को राजीनामा माग गरेका छन्।

mulpatra

शनिबार मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा आयोजित भेलामा केन्द्रीय सदस्यहरू झपट रावल, नरेश रोकाया र समिक बडाल लगायतका युवा नेताहरूको उपस्थितिमा नेतृत्वले राजीनामा दिनु पर्नेबारे छलफल भएको थियो।

भेलामा सहभागी नेताहरूले पछिल्लो निर्वाचनमा पार्टीले बेहोरेको हार र घट्दो जनसमर्थनको प्रमुख कारण वर्तमान नेतृत्वको कार्यशैली भएको निष्कर्ष निकालेका छन्। उनीहरूले अध्यक्ष ओलीसहित ‘पहिलो पुस्ता’ नेतृत्वको अविलम्ब बिदाइ आवश्यक रहेको धारणा राखेका छन्।

mulpatra mulpatra mulpatra

केन्द्रीय सदस्य नरेश रोकायाले नेतृत्वको “ग्रेसफुल एक्जिट” आवश्यक रहेको बताउँदै पार्टीलाई पुनर्जागृत गर्न ढिलाइ गर्न नहुने चेतावनी दिए।

भेलाले तत्काल केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटी बैठक बोलाई नेतृत्वले सामूहिक राजीनामा दिनुपर्ने माग अघि सारेको छ। साथै, हालको केन्द्रीय कमिटी विघटन गरी ५–७ सदस्यीय अन्तरिम समिति गठन गरेर पार्टी पुनर्गठन प्रक्रियामा जानुपर्ने प्रस्ताव गरिएको छ।

अन्तरिम नेतृत्वमा रहने व्यक्तिहरूले आगामी महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने सुनिश्चितता गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ।

Image Source: © https://mulpatra.com

युवा नेताहरूले एक वर्षभित्र ‘अर्ली महाधिवेशन’ गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार वर्तमान प्रतिनिधि संरचनाबाट समयानुकूल नेतृत्व चयन सम्भव नभएकाले नयाँ संरचनाबाट नेतृत्व चयन आवश्यक छ।

साथै, संगठित सदस्यता भौतिक उपस्थितिमा पुनः वितरण गर्नुपर्ने माग पनि उठाइएको छ। भेलामा पूर्व केन्द्रीय सदस्यहरू नवीना लामा, रमेश पौडेल, दीपा शर्मा, अनेरास्ववियूका पूर्वअध्यक्ष सुजन कडरिया, युवा नेता उपेन्द्र शाही, कमल जोशी तथा बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया लगायतको सहभागिता रहेको थियो।

यसअघि पनि पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमसँगै एमालेभित्र पुनर्गठनको आवाज अझ सशक्त बन्दै गएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com