श्रम मन्त्रीले भने फ्री भिसा–फ्री टिकट गलत देखियो, नीतिमा पुनर्विचार गरिन्छ
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित फ्री भिसा, फ्री टिकट नीतिमा सरकारले पुनर्विचार गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस विषयमा अध्ययनका लागि कार्यदल गठन गरिएको जानकारी दिए ।
सांसद आरेन राईले म्यानपावर कम्पनीहरूले फ्री भिसा, फ्री टिकटको नाममा श्रमिकबाट मनपरी रकम असुलिरहेको र ठगीका घटना बढिरहेको भन्दै सरकारको धारणा माग गरेका थिए । त्यसको जवाफमा मन्त्री यादवले नीतिको वैधानिक र व्यवहारिक दुवै पक्ष रहेको बताए।
![]() |
![]() |
![]() |
|---|
उनले गाउँबाट रोजगारदातासम्म पुग्न श्रमिकले विभिन्न खर्च व्यहोर्नुपर्ने भएकाले पूर्ण रूपमा ‘फ्री’ भन्न नमिल्ने उल्लेख गरे । ‘फ्री भिसा, फ्री टिकट गलत अवधारणा हो, यसलाई सुधार गर्न आवश्यक छ,’ मन्त्री यादवले भने ।
उनका अनुसार जेठ २२ गते गठन गरिएको कार्यदलले देशभरका करिब १८ सय म्यानपावर व्यवसायीको धारणा संकलन गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ । सोही प्रतिवेदनका आधारमा वैदेशिक रोजगार सेवा शुल्क तथा फ्री भिसा–फ्री टिकट सम्बन्धी सर्वमान्य र व्यवहारिक नीति तय गरिने सरकारको तयारी छ ।



