जेठमा पनि बैंक व्याजदर घटाए

जेठमा पनि बैंक व्याजदर घटाए
  • ३१ बैशाख २०८३, बिहीबार ११:५०

काठमाडौं– वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ ।

mulpatra

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । बिहीबार जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् ।

वैशाखको तुलनामा जेठमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।

mulpatra mulpatra mulpatra

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा वैशाखको तुलनामा जेठमा ०.०५९५ प्रतिशत बिन्दुले झरेको छ ।

वैशाखमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४०२५ प्रतिशत रहेकोमा जेठमा ४.३४३ प्रतिशतमा झरेको छ । मुद्दती निक्षेपको औसत ब्याजदर चैतको मूल्यवृद्धिभन्दा पनि कम हो ।
अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ४ देखि साढे ४ प्रतिशतसम्म छ । अधिकांशको ब्याजदर चैत महिनाको उपभोक्ता मुद्रास्फितिभन्दा कम हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फिति दर ४.४७ प्रतिशत रहेको छ । मुद्दतीको अधिकतम ब्याजदर नै मुद्रास्फितिभन्दा तल झरेपछि वित्तीय क्षेत्रमा त्यसले प्रश्नचिन्ह खडा गरेको छ ।

Image Source: © https://mulpatra.com

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ ।

वैशाखको तुलनामा जेठमा ब्याजदर घटाएका ७ बैंकमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, एसबीआई, प्राइम कमर्सियल, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा र सिद्धार्थ छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।

व्यक्तिगत मुद्दतीमा अब कुनै पनि बैंकले ४.८ प्रतिशतभन्दा माथि ब्याज दिने छैनन् । जेठमा अधिकतम ब्याजदर दिनेमा एनएमबीले ४.८० प्रतिशत तोकेको छ । सो ब्याजदर पनि ५ वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्रै दिने जनाएको छ ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर पनि लामो अवधिको हो ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।

व्यक्तिगत मुद्दतीमा वैशाख र जेठको अधिकतम ब्याजदर

बैंक वैशाखको ब्याजदर % जेठको ब्याजदर %
कृषि विकास ४.१५ ४.१५
सिटिजन्स ४.१५ ४.१०
एभरेस्ट ४.०५ ४.०५
ग्लोबल आईएमई ४.५० ४.५०
हिमालयन ४.५० ४.२५
इन्भेस्टमेन्ट मेगा ४.५० ४.५०
कुमारी ४.०५ ३.९६
लक्ष्मी सनराइज ४.५० ४.५०
माछापुच्छ्रे ४.५० ४.५०
नबिल ४.५५ ४.५५
नेपाल ४.५० ४.२५
नेपाल एसबीआई ४.२५ ४.२५
एनआईसी एसिया ४.७५ ४.५०
एनएमबी ५.०० ४.८०
प्राइम कमर्सियल ४.१५ ४.१५
प्रभु ४.५५ ४.५५
राष्ट्रिय वाणिज्य ४.७५ ४.७५
सानिमा ४.५० ४.५०
सिद्धार्थ ४.०५ ४.०५
स्ट्यान्डर्ड चार्टर्ड ४.१० ४.००

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com