प्रधानन्यायाधीशको संसदीय सुनुवाई आजै सक्ने दाउमा रास्वपा, विपक्षीले मागे समय
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ आजै टुंग्याउने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उभिएको छ भने विपक्षी दलहरुले उजुरी र कार्ययोजना अध्ययनका लागि थप समय माग गरेका छन् ।

संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरी तथा उनको कार्ययोजना वितरण गरिएपछि सुनुवाइ प्रक्रिया अघि बढाउने विषयमा सांसदहरुबीच मतभेद देखिएको हो ।
नेकपा एमालेकी सांसद पद्मा अर्यालले उजुरीकर्ताको गुनासा सुन्न र प्राप्त दस्तावेज अध्ययन गर्न पर्याप्त समय आवश्यक पर्ने भन्दै सुनुवाइमा हतार नगर्न आग्रह गरिन् । उनले समितिको निर्णय प्रक्रिया पारदर्शी र व्यवस्थित हुनुपर्ने बताउँदै आजै सुनुवाइ सक्ने तयारीप्रति प्रश्न उठाइन् ।
![]() |
![]() |
![]() |
|---|
अर्यालले बैठकमा आफू उजुरी वितरण मात्रै हुने अपेक्षासहित आएको बताउँदै अर्को दिन अध्ययनपछि छलफल र त्यसपछि सुनुवाइ हुनुपर्ने धारणा राखिन् । उनका अनुसार हतारमा गरिएको निर्णयले संसदीय सुनुवाइ समितिको गरिमामाथि नै प्रश्न उठ्न सक्छ ।
नेकपाका नेता एवं समितिका सदस्य वर्षमान पुनले पनि सुनुवाइ एक दिन पछि सार्न प्रस्ताव गरे । उनले आज उजुरी र कार्ययोजना अध्ययन गरेर भोलिबाट सुनुवाइ सुरु गर्दा प्रक्रिया थप विश्वसनीय र पूर्ण देखिने बताए ।
तर रास्वपाका सांसदहरुले भने सुनुवाइ प्रक्रिया आजै अघि बढाउनुपर्ने अडान लिएका छन् । रास्वपाका महामन्त्री तथा समितिका सदस्य कवीन्द्र बुर्लाकोटीले आफूले अधिकांश उजुरी अध्ययन गरिसकेको उल्लेख गर्दै आजै उजुरी सुन्ने, कार्ययोजना प्रस्तुत गराउने र छलफल अगाडि बढाउनुपर्ने बताए ।
Image Source: © https://mulpatra.com
उनले उजुरीलाई सरसर्ती अध्ययन गर्ने विषय भएको भन्दै आवश्यकता परे पछि थप छलफल गर्न सकिने धारणा राखे ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी परेको बताइएको छ । समितिले उजुरीमाथि छलफलपछि सुनुवाइ प्रक्रिया टुंग्याउने तयारी गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



