सोई ढोले सोई, केन्द्रीय सरकार खोई ? ’ भन्दै सांसद राईको आक्रोश
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद धू्रवराज राई ले सरकारले जनताको पीडा नसुनेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

सदनमा बोल्दै उनले भोजपुरमा हावाहुरीबाट प्रभावित नागरिकले अझै राहत नपाएको विषय उठाउँदै सरकारप्रति आक्रोश पोखेका हुन् । उनले स्थानीय जनताको पीडा सुनाउन खोज्दै प्रश्न गरे ‘सोई ढोले सोई, केन्द्रीय सरकार खोई ?’
राईले भोजपुरमा आएको हावाहुरीका कारण दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको भए पनि सरकारले प्रभावकारी रूपमा राहत तथा पुनःस्थापनाको काम नगरेको बताए । उनका अनुसार ६५ वटा घर अझै राहतबाट वञ्चित छन् भने आठ वटा विद्यालयको छाना उडेको अवस्थामा छ ।
![]() |
![]() |
![]() |
|---|
उनले आफूले गृहमन्त्रीलाई प्रत्यक्ष भेटेरै समस्या जानकारी गराएको उल्लेख गर्दै पनि पीडितले राज्यको अनुभूति गर्न नसकेको गुनासो गरे । ‘जनताको दुःख सुनाउन सदनमा उभिएको छु, तर सरकार अझै मौन छ’ उनले भने ।
सांसद राईले भोजपुर ऐतिहासिक र राजनीतिक चेतनाको भूमि भएको उल्लेख गर्दै त्यहाँका नागरिकको आवाजलाई बेवास्ता गरिएको आरोप लगाए । ‘यो बालागुरुहरूको भूमि हो, राणा शासनविरुद्ध पहिलो पटक कब्जा गरिएको ठाउँ हो, तर आज त्यही ठाउँका नागरिकको पीडा राज्यले सुन्न चाहेको छैन’ उनले बताए ।
सांसद राई भोजपुरबाट श्रम संस्कृति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



