पाँचथरमा बाढीको वितण्डा, ४ वटा विद्युत् उत्पादन केन्द्रमा क्षति, काबेली करिडोर अवरुद्ध
पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीपहिरोका कारण चारवटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ठप्प भएको छ भने सडक, पुल, कृषि तथा खानेपानी आयोजनामा व्यापक क्षति पुगेको छ ।

ताप्लेजुङ–पाँचथर सीमाना भएर बग्ने काबेली र इँवाखोलामा शुक्रबार राति आएको बाढीका कारण करिब ५५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको हो । प्रभावित आयोजनामध्ये २५ मेगावाटको काबेली आयोजना, १० मेगावाटको काबेली ‘बी–१’ क्यासकेड आयोजना, ९.९ मेगावाटको इँवाखोला आयोजना र ९.७ मेगावाटको इँवा हाइड्रोपावर आयोजना रहेका छन् । यी आयोजनाबाट उत्पादित विद्युत् पाँचथरको अमरपुर सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरेको छ ।
अरुण काबेली पावर लिमिटेडका अनुसार बाढीले आयोजनाको इन्टेक, बाँध तथा अन्य संरचनामा क्षति पुर्याएको छ । काबेली ‘बी–१’ को बाँध क्षेत्रमा बाढीले ल्याएको ढुङ्गा, लेदो, काठ र माटो थुप्रिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ । इँवा हाइड्रोपावर लिमिटेडले पनि बाढीका कारण बाँधस्थल, पाइपलाइन र विद्युत् गृहमा क्षति पुगेको जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
यता, अविरल वर्षासँगै खसेको पहिरोले याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर बगाएपछि लम्बाखोलाका मोहनलाल खवास, कबिर खवास र कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार घरबारविहीन बनेका छन् । सोही क्षेत्रमा भगीमान बेघाको घर उच्च जोखिममा परेपछि उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । विस्थापित परिवार हाल आफन्तकहाँ आश्रित छन् ।
बाढीपहिरोको जोखिमका कारण कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल र खोलाघारी मगरडाँडाका १५ भन्दा बढी परिवारका घर जोखिममा परेका छन् ।
भौतिक पूर्वाधारतर्फ पनि ठूलो क्षति पुगेको छ । बाढीले निर्माणाधीन दुई सडक पुल र दुई झोलुङ्गे पुल बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक–२ दोभानेस्थित मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो पुल, सडक र डाइभर्सन बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
Image Source: © https://mulpatra.com
त्यसैगरी, तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ जोड्ने तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुल मा पनि ठूलो क्षति पुगेको छ । निर्माण कम्पनीका अनुसार बाढीले ३५० टन स्टिल ट्रस्ट, अक्सिजन सिलिन्डर, इलेक्ट्रिक उपकरण तथा फलामे पाइपलगायत निर्माण सामग्री बगाएको छ । पहिरोका कारण मध्यपहाडी राजमार्गको ओयाम बजार–रिजाल भिर खण्ड तथा काबेली करिडोर सडक पनि अवरुद्ध बनेको छ ।
लगातार वर्षा र दुर्गम भूगोलका कारण क्षतिको पूर्ण विवरण सङ्कलन तथा अवरुद्ध सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले नदी तटीय तथा पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



