कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको अस्तित्व जोखाउन राखे पाँच बुँदे प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पाँच बुँदे प्रस्ताव राख्दै पार्टीको अस्तित्व जोगाउन र एकता कायम राख्न सुझाव दिएका छन् ।
विशेष महाधिवेशनमा समापति छानिएका गगन थापा नेतृत्वको कांग्रेस फुटको जोखिमबाट अघिबढीरहेको बेला डा. कोइरालाले यस्तो प्रस्ताव गरेका छन् ।

देउवा पक्षधर नेताहरुले प्रदेश स्तरीय भेला आयोजना गरिरहेका बेला उनले विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर खानु मात्र नभइ आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुगेको भन्दै पार्टीको समग्र एकतामा जोड दिएका छन् ।
केही दिन अघि सभापति थापा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरु उनलाई भेट्न पुगेका थिए । पछिल्लो समय क्रियाशिल सदस्य अद्यावधिकमा विवाद देखिएको कांग्रेसमा उनले १५औं महाधिवेशनको लागि क्रियाशील सदस्यता अध्यावधिलाई अनिवार्य नगर्न सुझाव दिएका छन्।
![]() |
![]() |
![]() |
|---|
डा. कोइरालाका पार्टी एकता कायम राख्न राखेका ५ प्रस्तावः
१. १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।
२. १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।
३. १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।
४. कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।
५. निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।



