फैलिदै छ सुन्तलामा क्यान्डिडेटस लिबेरिब्याक्टर एसियाटिकस’ नामक खतरनाक ब्याक्टेरिया
काठमाडौं–कैयौं उपभोक्ताको लागि सुन्तला एउटा फल मात्रै हो तर, नेपालको मध्यपहाडी क्षेत्रका लाखौं किसानका लागि नगदआर्जनको मुख्य आधार ।

कुल फलफूल उत्पादनको २०.८१ प्रतिशत हिस्सा ओगटेको सुन्तलाजात (सुन्तला, जुनार, कागती, निबुवा र भोगटे) फलफूलको खेतीले मध्यपहाडका डाँडापाखालाई हरियाली र समृद्ध बनाएको छ। तर, यही हराभरा सुन्तला बगैँचाभित्र अहिले एउटा यस्तो ब्याक्टेरिया फैलिरहेको छ, जसले बगैँचाका रैथाने सुन्तला सुक्न थालेका छन्।
वैज्ञानिकहरूले नेपालका ६ प्रदेशका मुख्य १३ जिल्लाबाट १ हजार २६ वटा सुन्तलाजातका फलफूलका नमूना संकलन गरी आधुनिक डीएनए प्रविधिबाट परीक्षण गरेका थिए। परीक्षणका क्रममा २५५ वटा नमूनाहरूमा ‘सिट्रस ग्रिनिङ’ फेला परेको छ जुन ‘क्यान्डिडेटस लिबेरिब्याक्टर एसियाटिकस’ नामक खतरनाक ब्याक्टेरियाले सर्ने गर्दछ।
![]() |
![]() |
![]() |
|---|
नेपालको सुन्तला उत्पादनमा सुन्तलाको हिस्सा लगभग ६३ प्रतिशत रहँदा जुनारको १५ प्रतिशत र कागतीको १५ प्रतिशत रहेको छ। तर, देशको समग्र माग पूरा गर्न आन्तरिक उत्पादन अपर्याप्त भइरहेका बेला देशैभरि फैलिएको यो रोगले कृषि अर्थतन्त्रमा ठूलो धक्का दिने जोखिम बढेको छ ।
अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल प्लोस वनमा भर्खरै प्रकाशित एक बृहत् अनुसन्धानले नेपालका सुन्तला बगैँचाहरूमा ‘सिट्रस ग्रिनिङ’ (ह्वाङलोङबिङ–एचएलबी) नामक घातक ब्याक्टेरिया तीव्र रूपमा फैलिरहेको तथ्य उजागर गरेको छ।
बाहिर हरियो, भित्र खोक्रो, कृषि वन तथा पर्यावरण मन्त्रालय, बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रकी जैविक प्रविधि विज्ञ डा. बालकुमारी ओलिया, समशितोष्ण बागबानी केन्द्रकी जैविक प्रविधि अधिकृत रिचा गिरी, पुष्प विकास केन्द्र, गोदावरीका जैविक प्रविधि अधिकृत सिद्धार्थ गौतम र त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभागका प्राध्यापक डा. कृष्णदास मानन्धरसहितको टोलीले नेपालमा पहिलो पटक यो जीवाणुको विस्तृत आनुवंशिक पहिचान गरेको हो।
ब्याक्टेरियाले बोटबिरुवाको रक्तसञ्चारसरह मानिने फ्लोएम टिस्युलाई पूर्ण रूपमा बन्द गरिदिन्छ। अनुसन्धानकर्ता डा. ओलिया भन्छिन्, ‘धेरैजसो यस रोगबाट संक्रमित रुखहरू बाहिरबाट हेर्दा स्वस्थ र हरियो देखिए पनि भित्रभित्रै घातक ब्याक्टेरियाबाट ग्रसित भइसकेका हुन्छन् र सिट्रस साइला (स्याप चुस्ने कीरा) मार्फत तीव्र रूपमा अन्य स्वस्थ रुखहरूमा फैलिरहेका हुन्छन्।’
Image Source: © https://mulpatra.com
ओलियाका अनुसार, अति संक्रमित अर्थात् ब्याक्टेरिएल लोड धेरै भैसकेपछि मात्र बोटमा लक्षणहरु देखा पर्छन् । यो ब्याक्टेरियाले संक्रमण गरेपछि बिस्तारै सुन्तलाको बोटले पाउनुपर्ने पोषक तत्व र पानी पूर्ण रूपमा रोकिन्छ। जसका कारण रुखको टुप्पोबाट पातहरू पहेँलो हुँदै तल जरातिर जान्छन् र अन्तमा पूरै बोट नै मर्छ, जसलाई कृषि विज्ञानको भाषामा ‘डाइ ब्याक’ भनिन्छ।
संक्रमित बोटको पातमा छुट्टै खालको पहेँलो धब्बा (ब्लची मोटल) देखिन्छ, पातको आकार सानो हुन्छ र समय नपुग्दै झर्न थाल्छ। रुखको जराहरू कालो र खैरो भई कुहिन थाल्छन्।
सबैभन्दा दुःखद कुरा, किसानले वर्षौँ कुरेर फलाएको सुन्तलाको आकार बाङ्गो–टेढो र कुरुप हुन्छ। सुन्तलाको भित्र उम्रने शक्ति नभएका असामान्य बीउ बन्छन् र फलको स्वाद अत्यन्तै तितो र अमिलो भई गुलियोपन पूर्ण रूपमा हराउँछ। अमिलो–तितो फल बजारमा बिक्दैन, जसका कारण किसानहरुलाई ठूलो आर्थिक क्षति पुग्दछ।
जिल्ला असर कति संक्रमण
चितवन ९० प्रतिशत १० मध्ये ९ नमूनामा संक्रमण
लमजुङ ६६.७ प्रतिशत ९ मध्ये ६ नमूनामा संक्रमण
म्याग्दी ६० प्रतिशत १५ मध्ये ९ नमूनामा संक्रमण
भोजपुर ५० प्रतिशत २० मध्ये १० नमूनामा संक्रमण
गोरखा ४९.४ प्रतिशत ८७ मध्ये ४३ नमूनामा संक्रमण
रामेछाप ३७.६ प्रतिशत १९७ मध्ये ७४ नमूनामा संक्रमण
पाल्पा ३५ प्रतिशत ६६ मध्ये १७ नमूनामा संक्रमण
सिन्धुली १८.८६ प्रतिशत २०९ मध्ये ३९ नमूनामा संक्रमण
वैज्ञानिकहरूका अनुसार नेपालमा भेटिएको यो ब्याक्टेरिया छिमेकी राष्ट्र भारतको पञ्जाब र मेरठ क्षेत्रमा पाइने ब्याक्टेरियासँग ९९ प्रतिशतभन्दा बढी आनुवंशिक रूपमा मिल्दोजुल्दो छ। यसले के देखाउँछ भने, बिना परीक्षण र बिना प्रमाणीकरण खुला सीमानाबाट भित्र्याइएका संक्रमित बिरुवाहरूका कारण यो महामारी नेपालभर फैलिएको हो।
किसानहरूले रोग नियन्त्रणका प्रभावकारी उपायहरू नअपनाउनु र रोग फैलाउने कीराहरू (स्याप चुस्ने कीरा) को उचित व्यवस्थापन नहुँदा संक्रमणले भयावह रूप लिएको हो।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



