Close

Recent Posts

रोमनबाट सुरु भएको सनसेट अवधारणबाट नेपालमा सनसेट ल ल्याइँदै । विकास निर्माणमा कसरी सहज हुन्छ ?

रोमनबाट सुरु भएको सनसेट अवधारणबाट नेपालमा सनसेट ल ल्याइँदै । विकास निर्माणमा कसरी सहज हुन्छ ?
  • २२ जेष्ठ २०८३, शुक्रबार ०७:२८

काठमाडौं । नेपालमा वर्षौंदेखि सडक, जलविद्युत्, प्रसारण लाइन, विमानस्थल तथा अन्य ठूला पूर्वाधार आयोजना कानुनी र प्रक्रियागत जटिलताका कारण ढिलो हुँदै आएका छन् । यही समस्या समाधान गर्दै विकास निर्माणलाई तीव्र गति दिन सरकारले ‘सनसेट ल’ अर्थात् विकास आयोजना व्यवस्थापन तथा कार्यान्वयन सहजीकरण ऐन ल्याउने तयारी गरेको छ ।

mulpatra

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रारम्भिक मस्यौदाले वन, वातावरण, जग्गा प्राप्ति, सार्वजनिक खरिद लगायतका क्षेत्रमा रहेका अवरोध हटाएर आयोजना कार्यान्वयनलाई सहज बनाउने लक्ष्य लिएको छ ।

के हो सनसेट ल ?
सनसेट ल भनेको निश्चित उद्देश्य र निश्चित अवधिका लागि बनाइने विशेष कानुन हो । यस प्रकारको कानुनले तोकिएको समयभित्र विशेष समस्या समाधान गर्न सहजीकरण गर्छ र निर्धारित अवधि समाप्त भएपछि स्वतः निष्क्रिय वा खारेज हुन्छ ।

mulpatra mulpatra mulpatra

नेपालमा सुरु गरिन लागेको सनसेटको अवधारणा रोमन कानुनमा भेटिन्छ । सनसेट अवधारणा त्यहि बाट विकास भएको मानिन्छ । रोमन गणतन्त्रको बेलामा त्यहाँको सिनेटलाई विशेष कर संकलन गर्ने तथा सेना परिचालन गर्ने अधिकार दिइन्थ्यो र त्यो अस्थायी हुने गर्दथ्यो ।

सनसेट प्रावधान कुनै कानुन, नियम वा नीतिभित्र समावेश गरिएको तर तोकिएको निश्चित मितिपछि उक्त कानुन वा व्यवस्था स्वतः निष्क्रिय वा अमान्य हुने गर्दथ्यो । पछि यो सिद्धान्त विभिन्न क्षेत्रहुँदै विश्वभरि प्रयोग गर्न थालिएको हो ।

हाल नेपालमा सुरु गर्न लागिएको सनसेट ल त्यहि सनसेट प्रावधान हो जसलाई १० बर्षका लागि लागु गर्ने भनेर तयार गरिँदैछ । र त्यसको समयावधि सकिएपछि पुन लागु गर्ने निर्णय नगरे स्वतः खारेज हुने व्यवस्था सहित तयारी गरिएको छ । नेपालमा २०७२ को भुईचालो पछि ल्याइएको ‘भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण सम्बन्धी ऐन’ पनि यस्तै ल को उदाहरणको रुपमा लिइन्छ । सोही ऐनमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरिएको थियो, जसको अवधि सकिएपछि प्राधिकरण स्वतः खारेज भएको थियो ।

Image Source: © https://mulpatra.com

किन आवश्यक भयो सनसेट ल ?

सरकारका अनुसार नेपालमा विकास आयोजना ढिलो हुनुको मुख्य कारण बजेट अभाव वा निर्माण कम्पनीको कमजोरी मात्र होइन, कानुनी र प्रशासनिक जटिलता पनि हो ।

एउटै आयोजनाले विभिन्न निकायबाट पटक–पटक स्वीकृति लिनुपर्ने, एउटै विषयमा दोहोरो अध्ययन गर्नुपर्ने, वन तथा वातावरणीय अनुमति लिन वर्षौं लाग्ने, जग्गा प्राप्ति प्रक्रिया लम्बिने र सडक, भौतिक निर्माण जस्ता विषयसँग जोडिने विद्युत प्राधिकरणको समन्वयमा काम गर्न असजिलो र सार्वजनिक खरिदका झन्झटिला प्रक्रियाले आयोजना अल्झिने गरेका छन् ।

कतिपय अवस्थामा सबै प्रक्रिया पूरा भइसकेपछि पनि कुनै एक निकायमा फाइल रोकिँदा सम्पूर्ण आयोजना नै वर्षौंसम्म प्रभावित हुने अवस्था देखिएको छ ।

विकास निर्माणमा देखिएको सोही असजिलो हटाउन, विकास निर्माणमा जोडिएका वन, खानेपानी, विद्युत, विकास निर्माणमा प्रयोग हुने ढुंगा गिटी बालुवाको सहज उत्खनन्को समस्यालाई समाधान गर्न समयसीमा सहितको व्यवस्था प्रस्ताव गरेको छ ।

कुनै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा निर्माण सामग्रीको स्रोत, परिमाण र प्रयोग स्पष्ट रूपमा उल्लेख भइसकेको अवस्थामा पुनः छुट्टै प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्न नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसले दोहोरो प्रक्रिया हटाएर समय बचत गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी वन क्षेत्र उपयोग, रुख कटान तथा अन्य स्वीकृतिसम्बन्धी विषयमा सम्बन्धित निकायले तीन महिनाभित्र निर्णय दिनुपर्ने प्रस्ताव गरिएको छ । यदि तोकिएको समयभित्र निर्णय नभए प्रधानमन्त्रीको अध्यक्षतामा रहने निर्देशक समितिले आवश्यक निर्णय गरेर प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था राखिएको छ ।

रूपान्तरणकारी आयोजना घोषणा गरिएका परियोजनाहरू, राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्रका जलविद्युत् तथा अन्य पूर्वाधार आयोजनाका लागि पनि विशेष सहजीकरणको प्रस्ताव गरिएको छ ।

मस्यौदामा समयमै निर्णय नगर्ने जिम्मेवार अधिकारीमाथि कारबाही गर्ने व्यवस्था पनि समावेश गरिएको छ । यसले सार्वजनिक प्रशासनमा जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ । सम्बन्धित निकायले बिना कारण फाइल रोकेर राख्ने वा निर्णय नगरी आयोजना प्रभावित बनाउने प्रवृत्ति नियन्त्रण गर्न यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

सनसेट लमा विकास आयोजनाको लागत घटाउने उद्देश्यले अर्को महत्वपूर्ण व्यवस्था पनि प्रस्ताव गरिएको छ । निर्माणस्थलमा जग खन्दा वा सडक कटान गर्दा निस्किने ढुंगा, गिट्टी तथा बालुवा सोही आयोजनामा प्रयोग गरिने भए त्यसमा रोयल्टी नलाग्ने व्यवस्था प्रस्ताव गरिएको छ । हाल यस्ता सामग्री आयोजनास्थलमै प्रयोग गर्दा समेत रोयल्टी मागिने भएकाले निर्माण लागत बढ्ने गरेको गुनासो रहँदै आएको छ ।

यद्यपि उक्त सामग्री अन्यत्र बिक्री वा प्रयोगका लागि लगिएमा सम्बन्धित स्थानीय तहलाई प्रचलित कानुनअनुसार रोयल्टी बुझाउनुपर्ने व्यवस्था यथावत् रहनेछ ।

सडक विस्तारका क्रममा विद्युत् लाइन, खानेपानी पाइप वा अन्य संरचना सार्नुपर्ने अवस्थामा लामो सार्वजनिक खरिद प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता हटाई छोटो प्रक्रियाबाट काम गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ । यसका साथै गुठी ऐन, जग्गा प्राप्ति ऐन, विद्युत् ऐन तथा सार्वजनिक खरिद ऐनलगायतका कानुनमा आवश्यक संशोधनको सुझाव पनि मस्यौदामा समेटिएको छ ।

सरकारले विकास निर्माणसम्बन्धी विवाद र मुद्दाहरूको छिटो टुंगो लगाउन ‘पूर्वाधार न्यायाधिकरण’ गठन गर्ने तयारीसमेत अघि बढाएको छ ।

यस न्यायाधिकरणमा उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा इन्जिनियरिङ र वित्त क्षेत्रका विज्ञ सदस्य रहने प्रारम्भिक अवधारणा बनाइएको छ । यसले ठेक्का विवाद, निर्माण ढिलाइ र पूर्वाधार आयोजनासँग सम्बन्धित मुद्दाको द्रुत सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।

विशेषज्ञहरूका अनुसार आयोजना समयमै सम्पन्न हुँदा लागत घट्ने, निजी लगानी बढ्ने, पुँजीगत खर्च वृद्धि हुने र रोजगारी सिर्जना हुनेछ ।

सरकारले आगामी वर्षहरूमा ३० हजार मेगावाट विद्युत् उत्पादन, रणनीतिक सडक विस्तार तथा ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । यी लक्ष्य हासिल गर्न कानुनी सुधार अपरिहार्य भएकाले सनसेट ललाई पूर्वाधार विकासको नयाँ आधारका रूपमा हेरिएको छ ।

यदि प्रस्तावित व्यवस्था प्रभावकारी रूपमा लागू भयो भने नेपालमा विकास आयोजना कार्यान्वयनको शैलीमा ठूलो परिवर्तन आउने, वर्षौंसम्म अल्झिने परियोजनाहरू समयमै सम्पन्न हुने र आर्थिक रूपान्तरणले गति लिने अपेक्षा गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com