अजयराज सुमार्गीको राहदानी रोक्का, ठुला व्यवसायी बीच त्रास
काठमाडौँ । विवादास्पद आर्थिक कारोबार तथा सम्भावित सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई तीव्रता दिँदै सरकारले व्यवसायी अजयराज सुमार्गी को राहदानी रोक्का गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि अध्यागमन विभागले मंगलबार उनको राहदानी रोक्का गरेको स्रोतहरूको दाबी छ। यससँगै सुमार्गी अब अनुसन्धान पूरा नभएसम्म विदेश जान नपाउने अवस्थामा पुगेका छन्।

सुमार्गीमाथि विगतदेखि विदेशी लगानीका नाममा नेपाल भित्रिएको अर्बौं रुपैयाँको स्रोत, स्वामित्व संरचना तथा सम्भावित सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा प्रश्न उठ्दै आएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि करिब २० अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबारमाथि अनुसन्धान गरेको सार्वजनिक विवरणहरूमा उल्लेख छ।
विशेष गरी विदेशस्थित कम्पनीमार्फत भित्रिएको करिब ७ करोड ५० लाख अमेरिकी डलर रकमको स्रोत र वास्तविक लाभग्राहीबारे लामो समयदेखि विवाद रहँदै आएको छ। जग्गा कारोबार, सिमेन्ट उद्योग, सञ्चारमाध्यम, दूरसञ्चार तथा मिनरल वाटर उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी गरेका सुमार्गीमाथि ट्याक्स हेभन मुलुकमा कम्पनी स्थापना गरी रकम परिचालन गरेको आरोप पनि लाग्दै आएको छ।
![]() |
![]() |
![]() |
|---|
२०७४ सालमै उनीविरुद्ध उजुरी परेपछि विभिन्न चरणमा अनुसन्धान भए पनि राजनीतिक संरक्षणका कारण फाइल अगाडि बढ्न नसकेको आरोप सार्वजनिक रूपमा उठ्ने गरेको थियो। पछिल्लो निर्णयले भने पुराना फाइलहरू पुनः सक्रिय बनाइएको संकेत दिएको विश्लेषण गरिएको छ।
सुमार्गीको राहदानी रोक्का गरिएसँगै नेपालको व्यावसायिक क्षेत्र र ठूला व्यवसायीबीच नयाँ हलचल सिर्जना भएको छ। सरकारले पछिल्ला महिनाहरूमा आर्थिक अपराध, राजस्व छली तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित पुराना फाइलहरू पुनः खोलेर अनुसन्धान अघि बढाइरहेको थुप्रै व्यवसायीलाई धमाधम पक्राउ गर्न थाले पछि व्यवसायीहरु त्रसित बनेको छन् ।



