भेनेजुएलामा ७.५ को शक्तिशाली भूकम्प, हजारौं प्रभावित रहेको अनुमान, सुनामीको चेतावनी
एजेन्सी । भेनेजुएलाको पश्चिमी क्षेत्रमा बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प केही सेकेन्डको अन्तरालमा गएपछि व्यापक त्रास फैलिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मुख्य ७.५ म्याग्निच्युडको भूकम्प काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको मोरोन नजिक केन्द्रित थियो।

शक्तिशाली कम्पनका कारण राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने सडक, आवासीय संरचना र विमानस्थलका पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
भूकम्पपछि सर्वसाधारणहरू घर तथा कार्यालयबाट बाहिर निस्केर सडकमा जम्मा भएका थिए। उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा परिचालित छन्। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले नागरिकहरूलाई सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्दै खुला र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
यूएसजीएसले प्रभावितको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको जनाएको छ भने अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ।
यसैबीच, भूकम्पपछि भेनेजुएलाको तटीय क्षेत्र तथा छिमेकी क्यारिबियन टापुहरूका लागि सुनामी चेतावनी जारी गरिएको छ। साथै प्युर्टो रिको र अमेरिकी भर्जिन टापुहरूमा सुनामी सतर्कता लागू गरिएको छ।
अधिकारीहरूले समुद्री ज्वारभाटा मापन केन्द्रहरूबाट असामान्य छालको गतिविधि निगरानी गरिरहेका छन्। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



