१०० दिनमा सरकार असफल रहेको कांग्रेसको ठहर
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो पहिलो १०० दिनमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी प्रतिबद्धताहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। सरकार आफ्नै कार्ययोजना कार्यान्वयनमा कमजोर देखिएको भन्दै कांग्रेसले अब यो विषयलाई संसद्को प्रमुख एजेन्डा बनाउने निर्णय गरेको छ।

शनिबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक बसेको थियो। बैठकमा विभिन्न मन्त्रालयको कार्यसम्पादनसम्बन्धी प्रतिवेदनमाथि समीक्षा गर्दै सरकारको १०० दिने कार्यप्रगतिबारे समग्र मूल्याङ्कन गरिएको थियो।
बैठकपछि सार्वजनिक निर्णयअनुसार सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूची अपेक्षाअनुसार कार्यान्वयन नभएको निष्कर्ष निकालिएको छ। कांग्रेसले सरकारका प्रतिबद्धता र वास्तविक कार्यसम्पादनबीच ठूलो अन्तर रहेको आरोप लगाउँदै यस विषयमा संसद्भित्र सशक्त भूमिका खेल्ने जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
बैठकले सरकारका कार्यप्रगतिको नियमित अनुगमन गर्ने, मन्त्रालयगत कामको निरन्तर समीक्षा गर्ने तथा सरकारलाई संसदमार्फत जवाफदेही बनाउने निर्णय पनि गरेको छ। मन्त्रालयगत संयोजकहरूले तयार पारेका प्रतिवेदनका आधारमा आवश्यक सुधारका लागि सरकारको ध्यानाकर्षण गराइने र ती प्रतिवेदन पार्टीको केन्द्रीय कार्यसमितिमा समेत पेश गरिने निर्णय भएको छ।
कांग्रेसले सरकार गठनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई १०० दिन सरकार सञ्चालन गर्ने अवसर मिले मुलुकले काँचुली फेर्ने दाबी गरेको प्रसंग पनि स्मरण गरेको छ। अहिले उनकै दलका वरिष्ठ नेता रहेका प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार सञ्चालन भइरहेका बेला सार्वजनिक गरिएका सुधारका प्रतिबद्धतासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको कांग्रेसको आरोप छ।
कांग्रेसको निष्कर्ष यस्तो समयमा आएको हो, जतिबेला सरकार आफ्नो पहिलो १०० दिनलाई उपलब्धिमूलक भन्दै सुशासन, सेवा प्रवाह, आर्थिक सुधार, डिजिटल प्रशासन, लगानी प्रवर्द्धन र प्रशासनिक सुधारका उपलब्धि सार्वजनिक गरिरहेको छ। तर प्रमुख प्रतिपक्षले ती दाबी व्यवहारमा पर्याप्त रूपमा देखिन नसकेको जिकिर गरेको छ।
Image Source: © https://mulpatra.com
राजनीतिक वृत्तमा सरकारको १०० दिने कार्यसम्पादनलाई लिएर बहस तीव्र बन्दै गएको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु ले पनि सरकारको १०० दिनलाई पूर्णतः असफल भन्दै आलोचना गरेका थिए। अब प्रमुख प्रतिपक्षी कांग्रेसले समेत औपचारिक रूपमा सरकारको कार्यसम्पादन असफल रहेको निष्कर्ष निकालेपछि संसद्को आगामी अधिवेशनमा सरकारको १०० दिने समीक्षा प्रमुख राजनीतिक मुद्दाका रूपमा उठ्ने संकेत देखिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



