Close

Recent Posts

बर्डफ्लुका कारण साढे ५ लाख बढी कुखुरा नष्ट गर्दा साढे २० करोड आर्थिक क्षति

बर्डफ्लुका कारण साढे ५ लाख बढी कुखुरा नष्ट गर्दा साढे २० करोड आर्थिक क्षति
  • २१ असार २०८३, आईतवार १३:१८

काठमाडौं– देशका विभिन्न भागमा तीन महिनादेखि देखा परेको बर्डफ्लुको प्रकोप काठमाडौं उपत्यकामा तीव्र रूपमा फैलिएको छ । पशु सेवा विभागका अनुसार गत चैत ४ गते मोरङबाट सुरु भएको यो प्रकोप हालसम्म ११ जिल्लाका ८२ स्थानमा फैलिसकेको छ ।

mulpatra

संक्रमण फैलन नदिन प्रभावित क्षेत्रका पक्षी, दाना र अन्य सामग्रीहरू स्थानीय तह, प्रदेश र संघको समन्वयमा नष्ट गर्ने कार्य भइरहेको सरकारको दाबी छ । विभागका अनुसार सबैभन्दा बढी सुनसरीमा २ लाख ८५ हजार ५६४ पक्षी नष्ट गरिएको छ भने मोरङमा १ लाख १ हजार ८६० पक्षी नष्ट गरिएको छ ।

यस्तै, चितवनमा ५७ हजार ६३ पक्षी नष्ट गरिएको छ । काठमाडौंमा ४७ हजार ८९१ वटा, भक्तपुरमा ३५ हजार २२३ वटा र झापामा २० हजार ९० वटा पक्षी नष्ट गरिएको छ । ललितपुरमा १८ हजार ५६६ वटा, बारामा २ हजार ८६५ वटा पक्षी नष्ट गरिएको छ । काभ्रेमा ४ सय ५० वटा, नवलपरासी पश्चिममा २०८ वटा र महोत्तरीमा ७८ वटा पक्षी नष्ट गरेको विभागले जनाएको छ ।

mulpatra mulpatra mulpatra

पछिल्लो समय उपभोक्ताहरूमा सचेतना बढेकाले मासुको उपभोगमा खासै कमी नआएको उनले जानकारी दिए । विभागका अनुसार हालसम्म यो रोग लागेका ५ लाख ६९ हजार ८५८ वटा पक्षी र ९ लाख ८९ हजार ३१३ वटा अण्डा नष्ट गरिएको छ । यस्तै, १ लाख ९५ हजार ४८५ केजी दाना सुरक्षित रूपमा खाडलमा पुरिएको छ । जिउँदो कुखुरा प्रतिकेजी २ सुय ५० का दरले पर्दा ५ लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट हुँदा साढे २० करोडभन्दा बढी आर्थिक नोक्सान भएको विभागकै अनुमान छ । जसमा कतिपय फार्मको पशुपंन्छी बीमाले बेहोर्ने समेत विभागको भनाइ छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा एक महिनासम्म पक्षीको ओसारपसारमा रोक लगाएपछि संक्रमण केही हदसम्म नियन्त्रणमा रहेको विभागले जनाएको छ । अहिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा संक्रमण दरमा बढी देखिएको विभागले जानकारी दिए ।

विभागका अनुसार हालसम्म मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे संक्रमणबाट प्रभावित भएका छन् । नेपालमा देखिएको बर्डफ्लु भाइरसको प्रकृति र यसमा आएको परिवर्तन बुझ्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा गर्ने कार्य सुरु गरेको छ ।

Image Source: © https://mulpatra.com

प्रयोगशाला परीक्षणका क्रममा बर्डफ्लु मात्र नभई पक्षीहरुमा न्यून भारयुक्त एभियन इन्फ्लुएन्जा रानीखेत र ई–कोलाई जस्ता रोगहरू समेत देखिएको विभागले जनाएको छ ।

यसैगरी रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरिएको छ । प्रभावित क्षेत्रमा आकस्मिक रोग अन्वेषण टोली र द्रुत कार्यदल परिचालन गरी संक्रमित पक्षी र सामग्रीको सुरक्षित व्यवस्थापन भइरहेको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र काभ्रेको बनेपा तथा पनौती क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएको जानकारी दिए । अन्य जिल्लाहरुमा भने हाल नियन्त्रणमा आइसकेको उनले बताए । उनका अनुसार रोग पुष्टि भएका क्षेत्रमा विभागले तत्काल प्राविधिक टोली परिचालन गरी जोखिम विश्लेषण गरिरहेको छ ।

संक्रमण थप फैलिन नदिन विभागले कृषक र व्यवसायीलाई निर्देशन दिएको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु कडाइका साथ लागु गर्न निर्देशन दिएको हो । विभागले अण्डा राख्ने पुराना कागजका क्रेटहरु पुनः प्रयोग नगर्न भनेको छ । फार्ममा प्रवेश गर्ने सवारीसाधनलाई अनिवार्य रूपमा निःसंक्रमण गर्ने र जंगली पक्षीबाट घरपालुवा पक्षीलाई टाढा राख्न निर्देशन दिएको छ ।

रोग नियन्त्रण गर्न काग लगायतका जंगली चराचुरुंगीको सम्पर्कबाट जोगाउनुपर्ने विभागले बताएको छ । पक्षी ओसारपसार गर्दा अनिवार्य रूपमा आधिकारिक भेटेरिनरी प्रमाणपत्र लिन विभागले भनेको छ । विभागले कुनै पनि फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पक्षी बिरामी परे वा मरेमा तुरुन्त नजिकैको पशु सेवा निकायमा खबर गर्न आग्रह गरेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com