Close

डोल्पामा मध्यराति बाढीको विपद्, एक महिलाको मृत्यु, दुई बालबालिकासहित ६ जना घाइते

डोल्पामा मध्यराति बाढीको विपद्, एक महिलाको मृत्यु, दुई बालबालिकासहित ६ जना घाइते
  • २१ असार २०८३, आईतवार ०८:०९

काठमाडौं । निरन्तरको वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिकामा आएको बाढीले एक महिलाको ज्यान गएको छ भने दुई बालबालिकासहित ६ जना घाइते भएका छन्। बाढीले घर तथा सार्वजनिक संरचनामा समेत क्षति पुर्‍याएको छ।

mulpatra

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार बिहान करिब ३ बजे जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी बस्तीमा पसेको थियो। बाढीमा परी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन्। उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीमा परी ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन्। उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

mulpatra mulpatra mulpatra

घाइते विष्णु विकका अनुसार बाढीको भेलले आफूहरूमध्ये केहीलाई करिब १५–१६ मिटर तलसम्म बगाएको थियो। उनीहरूको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा १० वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा घर पूर्ण रूपमा ध्वस्त भएको छ। सहकारी भवन, खाद्य गोदाम तथा अन्य सार्वजनिक संरचनामा पनि क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी पनि उद्धार तथा राहत कार्यका लागि परिचालन गरिएको छ।

Image Source: © https://mulpatra.com

स्थानीय प्रशासनले प्रभावित क्षेत्रको क्षति मूल्याङ्कन, राहत वितरण तथा थप जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। लगातार वर्षा भइरहेकाले पहाडी जिल्लाका खोलानाला आसपासका बस्तीमा सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com