मौद्रिक नीतिमा उद्योग वाणिज्य महासंघको सुझाव, नीतिगत सुधार नआए अर्थतन्त्र चलायमान नहुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मौद्रिक नीतिमार्फत बजेटले समेट्न नसकेका संरचनागत तथा नीतिगत समस्या समाधान गर्न आग्रह गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिमा आइतबार भएको मौद्रिक नीतिसम्बन्धी छलफलमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन परम्परागत व्यवस्थाभन्दा सुधारमुखी नीति आवश्यक रहेको बताए।

बजेटले केही विषय समेटे पनि उत्पादन, लगानी, कर्जा प्रवाह र निजी क्षेत्रका मुख्य समस्याहरू अझै सम्बोधन हुन बाँकी रहेकाले मौद्रिक नीतिले त्यसको स्पष्ट समाधान दिनुपर्ने उनको भनाइ थियो। नीतिगत सुधारबिनाको मौद्रिक नीति अर्थतन्त्रलाई गति दिन पर्याप्त नहुने उनले चेतावनी दिए।
श्रेष्ठले मुलुकको अर्थतन्त्र रूपान्तरणको चरणमा रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारलाई केन्द्रमा राखेर मौद्रिक नीति ल्याउनुपर्ने बताए। हाल कुल रोजगारीको अधिकांश हिस्सा निजी क्षेत्रले धानेको दाबी गर्दै राज्यको पर्याप्त सहयोग नपाउँदा उत्पादनमूलक उद्योगहरू अपेक्षित रूपमा विस्तार हुन नसकेको उनले बताए।
![]() |
![]() |
![]() |
|---|
देशमा करिब ७० प्रतिशत वस्तु आयात भइरहेका बेला केवल ३० प्रतिशत मात्र स्वदेशमै उत्पादन हुने अवस्थालाई परिवर्तन गर्न आयात प्रतिस्थापनमुखी नीति आवश्यक रहेको उनको धारणा थियो। पेट्रोलियमबाहेक अधिकांश वस्तु नेपालमै उत्पादन गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्ने व्यवस्था गर्न आग्रह गरे।
महासंघले व्यवसाय सञ्चालनका लागि बैंक ऋणमा जग्गा धितो अनिवार्य गर्ने परिपाटी परिवर्तन गर्नुपर्ने सुझाव पनि दिएको छ। अध्यक्ष श्रेष्ठले व्यवसायको नगद प्रवाह, परियोजनाको सम्भाव्यता र उद्यमको क्षमताका आधारमा कर्जा प्रवाह गर्ने प्रणाली विकास गर्नुपर्ने बताए।
नीतिगत अस्थिरता, कमजोर बजार माग र लगानीमैत्री वातावरणको अभावका कारण उद्योगहरू अहिले ३० देखि ४० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको उल्लेख गर्दै उनले बैंकिङ प्रणालीमार्फत उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार, उपभोग वृद्धि र लगानी प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको बताए। निजी क्षेत्रलाई नवप्रवर्तन र उत्पादन विस्तारतर्फ आकर्षित गर्न स्थिर, स्पष्ट र विश्वासयोग्य नीतिगत वातावरण अपरिहार्य रहेको उनको भनाइ थियो।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



