उद्योग र कृषि क्षेत्र सुस्त हुँदा जीडीपी ३.५१ मा खुम्चन सक्ने
काठमाडौँ । उद्योग तथा कृषि क्षेत्रले अपेक्षित गति लिन नसक्दा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक वृद्धिदर (जीडीपी) करिब ३.५१ प्रतिशतमा सीमित हुन सक्ने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको प्रारम्भिक तथ्यांकले अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि उत्पादनमूलक क्षेत्रको कमजोर प्रदर्शनले समग्र वृद्धिदरमा दबाब परेको संकेत गरेको हो।

विद्युत् उत्पादन, वित्तीय सेवा, यातायात तथा व्यापार क्षेत्रले सकारात्मक योगदान दिए पनि कृषि, उद्योग र निर्माण क्षेत्र अपेक्षाअनुसार चलायमान हुन नसक्दा आर्थिक विस्तारको गति सीमित रहने विश्लेषण गरिएको छ।
तथ्यांकअनुसार धान उत्पादनमा आएको गिरावट, निर्माण सामग्रीको आयात घट्नु तथा उत्पादनमूलक उद्योगको गतिविधि कमजोर रहनुले अर्थतन्त्रको आधारभूत क्षेत्रमा प्रभाव परेको छ। कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ भने औद्योगिक उत्पादन क्षेत्र ०.५४ प्रतिशतले संकुचन हुने देखिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रसमेत ऋणात्मक वृद्धिमा रहने अनुमानले समग्र आर्थिक गतिविधिमा थप दबाब सिर्जना गरेको छ।
![]() |
![]() |
![]() |
|---|
यद्यपि ऊर्जा तथा सेवा क्षेत्रले अर्थतन्त्रलाई केही राहत दिएका छन्। विद्युत्, ग्यास तथा वाफ आपूर्ति क्षेत्रमा करिब २४.८८ प्रतिशतको उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ भने वित्तीय तथा बिमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत तथा थोक–खुद्रा व्यापार ५.२५ प्रतिशतले विस्तार हुने देखिएको छ। बैंकिङ प्रणालीमा निक्षेप र कर्जा प्रवाह बढ्नु, व्यापार कारोबार विस्तार हुनु तथा जलविद्युत् उत्पादनमा भएको वृद्धि आर्थिक गतिविधिका सकारात्मक पक्षका रूपमा देखिएका छन्।
तर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को विधिअनुसार मौसमी प्रभाव समायोजन गर्दा दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र केवल ०.५८ प्रतिशतले मात्र विस्तार हुने अनुमानले पुनरुत्थानको गति अझै कमजोर रहेको देखाएको छ। अर्थविद्हरूका अनुसार उत्पादनमूलक उद्योग, कृषि तथा निर्माण क्षेत्रमा लगानी र उत्पादन बढाउने प्रभावकारी नीतिगत हस्तक्षेप हुन नसके चालु आर्थिक वर्षको अन्तिम वृद्धिदर ३.५१ प्रतिशत हाराहारीमै सीमित रहने जोखिम कायमै रहनेछ।



