मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले घटायो बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै वित्तीय प्रणालीमा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्न ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाइएको जनाएको छ। समीक्षा प्रतिवेदनअनुसार राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमाबीचको दूरी क्रमशः साँघुरो बनाउँदै नीतिगत दरलाई करिडोरको मध्यबिन्दुमा कायम गर्ने रणनीति अवलम्बन गरेको छ। यससँगै बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा दुवैतर्फको ब्याजदरमा थप गिरावट देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा स्थायी तरलता सुविधाको ब्याजदर ६ प्रतिशत, स्थायी निक्षेप सुविधाको ब्याजदर २.७५ प्रतिशत र नीतिगत दर ४.५० प्रतिशत तोकिएको थियो। पहिलो त्रैमासिक समीक्षापछि स्थायी तरलता सुविधाको ब्याजदर घटाएर ५.७५ प्रतिशत तथा नीतिगत दर ४.२५ प्रतिशतमा झारिएको थियो भने स्थायी निक्षेप सुविधाको ब्याजदर २.७५ प्रतिशतमै कायम राखिएको छ। राष्ट्र बैंकले सञ्चालन लक्ष्यका रूपमा अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको हाराहारीमा राख्ने उद्देश्य लिएको भए पनि २०८३ वैशाखसम्म भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित रहेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न खुला बजार कारोबारलाई निरन्तर प्रयोग गरिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४ देखि १७५ दिन अवधिसम्मका निक्षेप सङ्कलन बोलकबोल ७१ पटक, स्थायी निक्षेप सुविधा ११७ पटक तथा एक वर्षे नेपाल राष्ट्र बैंक ऋणपत्र ९ पटक जारी गरी तरलता प्रशोचन गरिएको छ। वैशाख मसान्तसम्म निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१६ अर्ब ७० करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत १११ अर्ब ९० करोड रुपैयाँ र राष्ट्र बैंक ऋणपत्रमार्फत २०० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको छ। यसै अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिदमार्फत ९४६ अर्ब २६ करोड रुपैयाँ बराबरको तरलता प्रणालीमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।
![]() |
![]() |
![]() |
|---|
अधिक तरलताका कारण अल्पकालीन ब्याजदरहरू करिडोरको तल्लो सीमामै कायम रहेका छन्। २०८३ वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत तथा ९१ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर २।६३ प्रतिशत रहेको छ। यही अवस्थाको प्रभाव निक्षेप र कर्जाको ब्याजदरमा पनि परेको राष्ट्र बैंकको निष्कर्ष छ। वैशाखसम्म वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.३५ प्रतिशत, विकास बैंकको ३.७० प्रतिशत र वित्त कम्पनीको ४.५९ प्रतिशतमा झरेको छ। त्यस्तै वाणिज्य बैंकको औसत कर्जा ब्याजदर ६.७३ प्रतिशत, विकास बैंकको ७.८७ प्रतिशत र वित्त कम्पनीको ९.१४ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलताको सहज अवस्था कायम रहेकाले आगामी अवधिमा पनि ब्याजदर न्यून स्तरमै रहने संकेत गरेको छ। कम ब्याजदरले निजी क्षेत्रको लगानी, उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार तथा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, तरलता व्यवस्थापन र मौद्रिक स्थायित्वबीच सन्तुलन कायम राख्दै आवश्यक परे थप नीतिगत उपकरण प्रयोग गरिने राष्ट्र बैंकले जनाएको छ।



