टेकनाथ रिजाल, शरणार्थीका सर्वमान्य नेता देखि ४ कसुरका अपराधी सम्म
दक्षिण भुटानका नेपालीभाषी समुदायको अधिकारका लागि दशकौं संघर्ष गरेका, भुटानी शरणार्थी आन्दोलनका सर्वाधिक परिचित अनुहार मानिएका टेकनाथ रिजाल आज नेपालको बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा चार वटा कसुरमा दोषी ठहर भएका छन्। एक समय हजारौं विस्थापित भुटानी शरणार्थीको आशा र नेतृत्वको प्रतीक बनेका रिजालको राजनीतिक तथा सामाजिक यात्राले अन्ततः एउटा गम्भीर कानुनी मोड लिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा रिजाललाई सरकारी लिखत किर्ते, ठगी तथा संगठित अपराधमा मतियार, राज्यविरुद्धको अपराधमा मतियार तथा एकीकृत कसुरमा दोषी ठहर गरेको छ। सजाय निर्धारणका लागि अदालतले छुट्टै मिति तोकेको छ।
यो फैसला केवल एक व्यक्तिको कानुनी उत्तरदायित्वसँग मात्र सम्बन्धित छैन, यसले तीन दशकभन्दा बढी समयदेखि नेपालको भूमि, राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडिएको भुटानी शरणार्थी आन्दोलनको एउटा ऐतिहासिक अध्यायमाथि पनि गम्भीर प्रश्न उठाएको छ।
![]() |
![]() |
![]() |
|---|
दक्षिण भुटानबाट संघर्षको सुरुआत गरेका टेकनाथ रिजालको जन्म दक्षिण भुटानको लामीडाँडामा २००४ फागुन १३ गते भएको थियो। उनले भारतको बनारसबाट संस्कृत विषयमा आचार्य तहसम्म अध्ययन गरेका थिए। शिक्षित, प्रभावशाली र नेपालीभाषी समुदायका लोकप्रिय व्यक्तित्वका रूपमा उनी भुटानको सार्वजनिक जीवनमा स्थापित भए।
उनी लामीडाँडा क्षेत्रबाट प्रतिनिधिका रूपमा निर्वाचित भएर करिब डेढ दशकसम्म भुटानको सार्वजनिक सेवामा सक्रिय रहे। त्यसबेला उनी राजदरबारसँग पनि निकट मानिन्थे र शिक्षा तथा प्रशासनिक सुधारका विषयमा राजालाई सुझाव दिने व्यक्तिमध्ये एक थिए।
तर १९८० को दशकमा भुटान सरकारले लागू गरेका नागरिकता, विवाह र जनगणना सम्बन्धी नीतिले नेपाली मूलका लाखौं नागरिकको नागरिक हैसियत नै संकटमा पारिदियो। १९८८ को जनगणनामा ठूलो संख्यामा नेपालीभाषी नागरिकलाई गैरभुटानी वा अवैध आप्रवासी को वर्गमा राखिएपछि रिजालले खुला रूपमा विरोध जनाए। यही क्षणबाट उनी राजदरबारका विश्वासपात्रबाट शासनका आलोचकमा रूपान्तरण भए।
Image Source: © https://mulpatra.com
१९८९ मा झापाको काँकरभिट्टामा भुटान मानवअधिकार सार्वजनिक मञ्च स्थापना भएपछि टेकनाथ रिजाल सर्वसम्मत अध्यक्ष बने। संगठनले दक्षिण भुटानका नेपालीभाषी नागरिकमाथि भइरहेको दमनलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने अभियान सुरु गर्यो। भुटानी नेपालीमाझ उनी आन्दोलनको केन्द्रमा रहे ।
उक्त अभियानसँगै विद्यार्थी आन्दोलन, मानवअधिकार अभियान र राजनीतिक प्रतिरोध एकीकृत हुँदै गयो। विश्वनाथ क्षत्री, देवदत्त शर्मा, जोगेन गजमेर, रतन गजमेर, मनबहादुर क्षत्री, सुशील पोखरेललगायत धेरै युवा नेताहरू रिजालसँग जोडिए।
हामी न्याय चाहान्छौ भन्ने शीर्षकको जानकारीपत्र रिजालको नेतृत्वमा प्रकाशित भएपछि भुटानी राजतन्त्र झन् आक्रामक बन्यो। व्यापक गिरफ्तारी, यातना, बेपत्ता र देशनिकालाको क्रम सुरु भयो। हजारौं नेपालीभाषी नागरिक आफ्नो जन्मभूमि छाड्न बाध्य भए। १९८९ मा भारत हुँदै अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी गरिरहेका बेला रिजाल नेपालमै पक्राउ परे। तत्कालीन पञ्चायती सरकारले उनलाई भुटान सरकारलाई जिम्मा लगायो।
भुटानको चेम्गाङ कारागारमा उनीमाथि मुद्दा चलाइयो र १९९३ मा जन्मकैद सुनाइयो। करिब एक दशक जेल जीवन बिताएपछि भुटान–नेपाल वार्ताको वातावरण बनाउन राजकीय आममाफी अन्तर्गत उनी रिहा भए।
रिहाइपछि पनि उनी दुई वर्ष थिम्पूमा बसिरहे तर राजासँग भेटको अवसर पाएनन्। त्यसपछि भारत हुँदै पुनः नेपाल फर्किए। पछि उनले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको बैठकमा भाग लिए, आफ्नो आत्मकथा निर्वासन प्रकाशित गरे र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरे।
झापा र मोरङका शरणार्थी शिविरहरूमा टेकनाथ रिजाललाई हजारौं विस्थापित भुटानी नेपालीहरूले आफ्नो राजनीतिक प्रतिनिधिका रूपमा स्वीकार गरेका थिए। उनलाई सबैले शरणार्थी शिविरका आशाको केन्द्र
मान्दथे । उनले पटक–पटक भुटान फर्किने आशा दिलाउने भाषण दिए। उनका भाषणले निराश शरणार्थी समुदायमा नयाँ ऊर्जा पैदा गरेको थियो।
उनलाई धेरैले आफ्नो अधिकारका लागि जेल जीवन बिताउने साहसी नेता माने। अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चहरूमा पनि उनी भुटानी शरणार्थी समस्याको प्रमुख आवाज बने।
समयसँगै भुटानी शरणार्थी समस्या समाधानको स्वरूप बदलियो। तेस्रो मुलुक पुनर्वास कार्यक्रममार्फत अधिकांश शरणार्थी अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकमा पुनर्स्थापित भए। नेपालमा शरणार्थीको संख्या घट्दै गयो।
यही अवधिमा नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोह सक्रिय भएको अनुसन्धानबाट खुलेको थियो। सरकारी अनुसन्धानले विभिन्न राजनीतिक नेता, उच्च प्रशासक, कर्मचारी तथा बिचौलियासँगै टेकनाथ रिजालको पनि संलग्नता रहेको दाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
नभन्दै काठमाडौं जिल्ला अदालतले सरकारी प्रमाण, कागजात, साक्षी र अभियोजन पक्षका आधारहरूको मूल्यांकनपछि रिजाललाई चार कसुरमा दोषी ठहर गरेको छ। अदालतले उनलाई सरकारी लिखत किर्ते,
ठगी तथा संगठित अपराधमा मतियार, राज्यविरुद्धको अपराधमा मतियार, तथा एकीकृत कसुर मा दोषी ठहर गरेको हो।
यही मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत २३ जना विभिन्न कसुरमा दोषी ठहर भएका छन् भने ७ जनाले सफाइ पाएका छन्।
भुटानमा नेपाली भाषीको पक्षमा आन्दोलनका नेतृत्व गरेर जेलनेल भोगेका रिजाल जिल्ला अदालतको पैmसलाले अपराधि करार भएका छन् । उनी राज्यको दमनविरुद्ध लड्ने मानवअधिकार अभियन्ता, राजनीतिक बन्दी, हजारौं शरणार्थीका प्रतिनिधि र अन्तर्राष्ट्रिय मञ्चमा भुटानी नेपालीहरूको आवाज हुँदा हुँदै त्यही शरणार्थी पहिचानसँग जोडिएको नक्कली शरणार्थी प्रकरणमा अदालतबाट दोषी ठहर भएका व्यक्ति बने।
जिल्ला अदालतको फैसला अन्तिम कानुनी निष्कर्ष भने होइन। नेपालको न्याय प्रणालीअनुसार दोषी ठहर भएका प्रतिवादीहरूले उच्च अदालत र त्यसपछि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने संवैधानिक अधिकार राख्छन्।
टेकनाथ रिजालको राजनीतिक जीवन नेपालीभाषी भुटानी समुदायको संघर्षसँग अभिन्न रूपमा जोडिएको छ। उनले नागरिक अधिकारका लागि जेल जीवन बिताए, निर्वासन भोगे, अन्तर्राष्ट्रिय अभियान चलाए र शरणार्थी आन्दोलनको प्रतीक बने।
तर जुन ूशरणार्थीू पहिचानको रक्षा गर्न उनले आफ्नो जीवनको ठूलो हिस्सा खर्चिएको दाबी गरिन्थ्यो, त्यही शरणार्थी परिचयपत्रसँग सम्बन्धित नक्कली शरणार्थी प्रकरणमा उनी जिल्ला अदालतबाट चार कसुरमा दोषी ठहर भएका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



