नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीका छोरा प्रतीक थापा र सन्दीप रायमाझीले पाए सफाइ
काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई सबै अभियोगबाट सफाइ दिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले सार्वजनिक गरेको फैसलाअनुसार मुद्दाका ३० प्रतिवादीमध्ये सन्दीप र प्रतीकसहित ७ जनाले पूर्ण सफाइ पाएका हुन्। अन्य सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।
अदालतले सन्दीप रायमाझीको हकमा लियोन ट्रेडर्समार्फत भएका आर्थिक कारोबारलाई व्यापारिक प्रकृतिको देखिएको उल्लेख गर्दै अभियोग पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले सफाइ दिएको हो। यस्तै, प्रतीक थापाविरुद्ध प्रस्तुत गरिएका प्रमाणहरू अभियोग पुष्टि गर्न पर्याप्त नभएको निष्कर्ष निकाल्दै अदालतले उनलाई पनि दोषमुक्त गरेको छ। यसअघि उनीहरूमाथि संगठित अपराध, ठगी तथा अन्य कसुरमा संलग्न रहेको अभियोग लगाइएको थियो।
![]() |
![]() |
![]() |
|---|
यद्यपि, यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत २३ जना विभिन्न कसुरमा दोषी ठहर भएका छन्। अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आगामी असार २९ गते पेसी तोकेको छ भने लामो समयदेखि फरार रहेका ८ प्रतिवादीको मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम मुलतवीमा राख्ने निर्णय गरेको छ।



