प्रधानमन्त्री र अर्थमन्त्रीको दूरीले रास्वपालाई सकस
काठमाडौं । दुई तिहाई नजिककोे रास्वपासरकारभित्र प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच विवाद देखिएको छ । प्रधानमन्त्री र अर्थमन्त्री बीच देखिएको दूरी रास्वापा सभापति लामिछानेलाई मिलाउन समेत हम्मे हम्मे परेको छ । पार्टी सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्रीसँग गरेको करिब चार घण्टाको लामो छलफलमा सबैभन्दा धेरै समय यही विषयमा केन्द्रित भएको स्रोतहरूको दाबी छ।

सरकार गठनपछि एक सय दिन बित्दा आर्थिक नीति, निर्णय प्रक्रिया, निजी क्षेत्रसँगको संवाद तथा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीचको समन्वयलाई लिएर दुई नेताबीच असन्तुष्टि बढ्दै गएको संकेत विभिन्न घटनाक्रमले देखाएका छन्। यद्यपि प्रधानमन्त्री, अर्थमन्त्री वा रास्वपाले यस विषयमा औपचारिक रूपमा कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्।
प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा निर्माण व्यवसायीहरूसँग लगातार उच्चस्तरीय छलफल गरे। तर अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित ती बैठकहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी नभएपछि सरकारभित्र सम्बन्ध चिसिएको चर्चा सुरु भयो।
![]() |
![]() |
![]() |
|---|
निजी क्षेत्रभित्र पनि सरकारको आर्थिक नेतृत्व कसले गरिरहेको भन्ने प्रश्न उठ्न थालेको छ। आर्थिक नीति, लगानी, कर व्यवस्था तथा निर्माण क्षेत्रका समस्या मूलतः अर्थ मन्त्रालयसँग सम्बन्धित विषय भए पनि ती बैठकमा अर्थमन्त्री अनुपस्थित रहनुलाई राजनीतिक सन्देशका रूपमा व्याख्या गरिएको छ।
प्रधानमन्त्रीनिकट पक्षको बुझाइमा बजेट निर्माणका क्रममा करका दर परिवर्तन लगायत केही निर्णयमा अर्थ मन्त्रालयबाट पर्याप्त सावधानी अपनाइएन। त्यसले सरकार अनावश्यक विवादमा तानिएको र केही स्वार्थ समूह लाभान्वित हुने अवस्था सिर्जना भएको आशंका प्रधानमन्त्री पक्षको छ।
अर्कोतर्फ अर्थमन्त्रीनिकट पक्षले भने बजेटसँग सम्बन्धित प्राविधिक विषयलाई राजनीतिक विवाद बनाइएको, प्रधानमन्त्री निकट केही व्यक्तिले योजनाबद्ध रूपमा आफूलाई कमजोर देखाउन खोजेको तथा प्रधानमन्त्री कार्यालयबाट मन्त्रालयको अधिकार क्षेत्रमा हस्तक्षेप बढेको गुनासो गर्दै आएको बताइन्छ।
Image Source: © https://mulpatra.com
यही पृष्ठभूमिमा सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्दै अर्थमन्त्रीबाट प्राप्त गुनासा राखेको स्रोतको भनाइ छ। छलफलका क्रममा लामिछानेले प्रधानमन्त्रीसँग केही मुख्य प्रश्न उठाएका थिए। अर्थमन्त्रीसँग नियमित समन्वय किन हुन सकेन ? आर्थिक नीतिमा दुई फरक शक्ति केन्द्र किन देखिन थाले ? प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच संवादहीनता किन बढ्यो ?
सरकारनिकट स्रोतहरूले दाबी गरेअनुसार छलफलका क्रममा प्रधानमन्त्री शाहले अर्थमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्व परिवर्तनको विकल्पसमेत प्रस्तुत गरेका थिए। उनको बुझाइमा अर्थ मन्त्रालयमा नयाँ नेतृत्व आए सरकार सञ्चालन सहज हुन सक्ने थियो।
सभापति लामिछानेले भने अर्थमन्त्रीलाई तत्काल हटाउँदा पार्टीभित्र नकारात्मक सन्देश जाने, आर्थिक नीति अस्थिर देखिने तथा बजेट कार्यान्वयनमै असर पर्न सक्ने भन्दै तत्काल निर्णय नगर्न सुझाव दिएको स्रोतले जनाएको छ।
राजनीतिक वृत्तमा अहिले देखिएको विवादलाई केवल व्यक्तित्वको द्वन्द्वभन्दा पनि शासन सञ्चालनको शैलीसँग जोडेर हेरिएको छ। प्रधानमन्त्री शाह प्रधानमन्त्री कार्यालयबाटै प्रमुख नीतिगत निर्णयहरूको प्रत्यक्ष नेतृत्व गर्न चाहेको देखिन्छ। उता अर्थमन्त्री वाग्ले मन्त्रालयगत स्वायत्तता, संस्थागत प्रक्रिया र प्राविधिक निर्णयलाई प्राथमिकता दिने पक्षमा रहेको बुझाइ छ।
रास्वपाभित्र अहिले तीन शक्ति केन्द्र देखिएको विश्लेषण पनि भइरहेको छ। पार्टी संगठनको नेतृत्व सभापति रवि लामिछानेसँग छ भने सरकारको नेतृत्व प्रधानमन्त्री बालेन शाहसँग छ। आर्थिक नीति निर्माणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रभावशाली भूमिकामा छन्।
आइतबार भएको बालेन–रवि संवादले सरकारभित्रको असन्तुष्टिलाई सतहमा ल्याएको छ। छलफलमा सुकुम्बासी समस्या, सामाजिक असन्तोष, पार्टीको आन्तरिक जिम्मेवारी बाँडफाँट तथा भूराजनीतिक विषय पनि उठे। तर स्रोतहरूका अनुसार सबैभन्दा संवेदनशील र लामो छलफल प्रधानमन्त्री र अर्थमन्त्रीबीच बढ्दो दूरीकै विषयमा केन्द्रित रहेको श्रोतको दावी छ।
अब सभापति रवि लामिछानेको पहलमा प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेबीच औपचारिक संवाद हुन्छ वा सरकार पुनर्गठनतर्फ परिस्थिति अघि बढ्छ भन्ने विषयले आगामी दिनमा सरकारको स्थायित्व र रास्वपाको आन्तरिक एकतामाथि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



