रेमिट्यान्सको रेकर्ड, ११ महिनामा २१ खर्ब बढी भित्रियो
काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) ले चालु आर्थिक वर्ष २०८२र८३ मा नयाँ कीर्तिमान कायम गरेको छ। आर्थिक वर्षको पहिलो ११ महिनामै नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ, जुन अहिलेसम्मकै उच्च आप्रवाह हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनदेखि जेठसम्म रेमिट्यान्स आप्रवाह अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धि दर १६.८ प्रतिशत रहेको थियो।
अमेरिकी डलरमा पनि रेमिट्यान्स उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा १४ अर्ब ५९ करोड अमेरिकी डलर बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा डलरमा आधारित रेमिट्यान्स वृद्धि १२.८ प्रतिशत थियो।
![]() |
![]() |
![]() |
|---|
जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल आएको राष्ट्र बैंकले जनाएको छ। यसअघि वैशाख महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएर हालसम्मकै सबैभन्दा उच्च मासिक रेमिट्यान्स आप्रवाह भएको थियो। गत वर्षको जेठ महिनामा भने १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ मात्र रेमिट्यान्स आएको थियो।
रेमिट्यान्सको निरन्तर वृद्धिले नेपालको बाह्य क्षेत्रलाई थप मजबुत बनाएको देखिएको छ। राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म चालु खाता ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा चालु खातामा १ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ बचत रहेको थियो।
त्यसैगरी शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधारिएको छ। समीक्षा अवधिमा शोधनान्तर बचत ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो। यसले एक वर्षमै नेपालको बाह्य भुक्तानी क्षमता झण्डै दोब्बर बलियो भएको संकेत गरेको छ।
Image Source: © https://mulpatra.com
वैदेशिक रोजगारीतर्फ श्रम स्वीकृति लिने नेपालीको संख्या भने अघिल्लो वर्षको तुलनामा केही घटेको देखिएको छ। चालु आर्थिक वर्षको ११ महिनामा पहिलोपटक अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २११ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७३५ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ जना रहेका थिए।
रेमिट्यान्सले नेपालको विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति र चालु खाता सन्तुलनलाई मजबुत बनाएको भए पनि यसको ठूलो हिस्सा उपभोगमा खर्च हुने प्रवृत्तिले दीर्घकालीन उत्पादन र रोजगारी सिर्जनामा अपेक्षित योगदान दिन सकेको छैन।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्स अझै प्रमुख आधारका रूपमा रहेको तथ्य पछिल्लो तथ्यांकले पुनः पुष्टि गरेको छ। देशको बाह्य क्षेत्रलाई सन्तुलित राख्न महत्वपूर्ण योगदान पुर्याइरहेको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकेमा आर्थिक वृद्धिले थप गति लिन सक्ने अपेक्षा गरिएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



