मूल्यवृद्धिको मारमा जनता, ५.२२ प्रतिशत वृद्धि हुँदा बढ्न सकेन आम्दानी
काठमाडौं। बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको छ। तर अधिकांश नागरिकको आम्दानी भने त्यही अनुपातमा बढ्न नसक्दा महँगीको प्रत्यक्ष भार घरपरिवारले बोक्न बाध्य भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मूल्यवृद्धि तीव्र बन्दै गएको देखाएको छ।

राष्ट्र बैंकका अनुसार जेठ २०८३ सम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो दर २.७२ प्रतिशत मात्र थियो। एक वर्षमै महँगी झण्डै दोब्बर पुगेको भए पनि श्रमिक, कर्मचारी, किसान तथा साना व्यवसायीको आम्दानीमा त्यही अनुपातमा वृद्धि हुन सकेको छैन।
खाद्य तथा पेय पदार्थ समूहमा ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ५.३७ प्रतिशत मूल्यवृद्धि भएको छ। विशेषगरी फलफूल, घ्यू तथा तेल, माछामासु र तरकारीको मूल्य उल्लेख्य रूपमा बढेको छ। फलफूलको मूल्य १७.४० प्रतिशत र घ्यू तथा तेलको मूल्य १५.१० प्रतिशतले बढ्दा सामान्य परिवारको भान्सा खर्चमा ठूलो दबाब परेको छ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरी गैरखाद्यतर्फ विविध वस्तु तथा सेवामा १६६८ प्रतिशत तथा यातायातमा १५.३१ प्रतिशत मूल्यवृद्धि भएको छ। यातायात महँगिँदा त्यसको प्रभाव ढुवानी खर्च हुँदै बजारमा उपलब्ध अधिकांश वस्तुको मूल्यमा परेको देखिन्छ। शिक्षा, कपडा तथा जुत्ताचप्पलको मूल्यसमेत बढेकाले परिवारको मासिक बजेट थप प्रभावित बनेको छ।
महँगी बढे पनि आम्दानी स्थिर रहँदा नागरिकको बचत गर्ने क्षमता घट्दै गएको छ। न्यून आय भएका परिवारले गुणस्तरीय खाद्यान्न, स्वास्थ्य सेवा र शिक्षामा खर्च कटौती गर्न थालेको अवस्था देखिन्छ।
जनता महंगीको मारमा परिरहँदा सरकारले बजार अनुगमन प्रभावकारी बनाउन सकेको छैन । कृषि उत्पादन बढाउने र आपूर्ति प्रणाली सुधार गर्ने विषयमा सरकारले उचित कदम समेत चाल्न सकेको देखिँदैन । जसले गर्दा आम नागरिकको जीवनयापन अझ कठिन बन्ने देखिएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



