नक्कली भुटानी शरणार्थी प्रकरण: कसलाई कति सजाय ?
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनासम्बन्धी चर्चित प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा तथा खाणलाई ती कसुरका मतियारका रूपमा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो। यही मुद्दामा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
अदालतले गिरोहका मुख्य योजनाकार केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, पूर्वसांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई समान ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। इन्द्रजित राई ७५ वर्ष नाघेकाले कानुनी व्यवस्थाअनुसार उनको ७५ प्रतिशत कैद सजाय मिनाहा हुने उल्लेख गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
यस्तै पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तथा बेचन झालाई ठगीसम्बन्धी उद्योग कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
अदालतले यसअघि १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ र फरार रहेका ८ जनाको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको थियो। एउटै घटनामा किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुर पुष्टि भएकाले एकीकृत कसुरअन्तर्गत सजाय कार्यान्वयन हुने अदालतले जनाएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने योजनाले नेपालको अन्तर्राष्ट्रिय छवि र राज्यको स्वाभिमानमा गम्भीर आँच पुर्याएको ठहर गर्दै अदालतले प्रतिवादीहरूको भूमिका र संलग्नताका आधारमा सजाय निर्धारण गरेको हो।



