आजदेखि भरि सिलिण्डर ग्यास पाउने
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति अवस्था सुधार भएको जनाउँदै आजदेखि बजारमा पुनः साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर पठाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

निगमका अनुसार भारतीय आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यासको लोडिङ नियमित बन्दै गएपछि पूर्ण तौलका सिलिण्डर वितरण पुनः सुरु गरिएको हो। निगमका प्रवक्ता मनोज ठाकुरले ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएकोले उद्योगहरूलाई आजदेखि १४।२ किलोग्राम ग्यास भरेर उपभोक्तामाझ पठाउन निर्देशन दिइएको जानकारी दिए।
निगमले १४.२ किलोग्राम ग्यास भएको एक सिलिण्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम रहेको स्पष्ट गरेको छ। यसअघि ग्यास आपूर्तिमा आएको अवरोधका कारण निगमले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन अस्थायी रूपमा कम तौलको ग्यास वितरण गर्ने व्यवस्था लागू गरेको थियो।
![]() |
![]() |
![]() |
|---|
गत फागुन २९ गते निगमले अर्को व्यवस्था नभएसम्म आधा तौल ७.१ किलोग्राम ग्यास भएको सिलिण्डर बिक्री–वितरण गर्न उद्योगहरूलाई निर्देशन दिएको थियो। उक्त निर्णयको उद्देश्य सीमित परिमाणमा उपलब्ध ग्यासलाई बढीभन्दा बढी उपभोक्तासम्म पुर्याउनु रहेको निगमको भनाइ थियो।
हाल भारततर्फबाट ग्यास आपूर्ति नियमित बन्दै गएपछि पूर्ण तौलका सिलिण्डर पुनः वितरणमा ल्याइएको निगमले जनाएको छ। यससँगै अब उपभोक्ताले बजारबाट पुनः १४.२ किलोग्राम ग्यास भएको भरि सिलिण्डर खरिद गर्न सक्नेछन्।
निगमले उपभोक्तालाई अधिकृत बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न, सिलिण्डरको सिल, तौल र सुरक्षा मापदण्ड जाँच गर्न तथा कुनै अनियमितता देखिएमा सम्बन्धित ग्यास उद्योग वा नेपाल आयल निगममा जानकारी गराउन पनि आग्रह गरेको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



