यी २३ जिल्लामा राति सवारी सञ्चालनमा रोक
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार अति भारी वर्षा हुने सम्भावना रहेकाले पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट जिल्लामा रात्रिकालिन सवारी सन्चालनमा रोक लगाएको छ ।
त्यसैगरि चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरिएको हो। आवश्यक परे परिस्थितिअनुसार जुनसुकै समयमा पनि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा विशेषगरी रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह र स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ भने जोखिमयुक्त राजमार्गमा सडक अवरोध तत्काल हटाउन हेभी उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न र वर्षा तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
