Close

Recent Posts

रविको सन्देश: गलत नीति मात्रै कि नेतृत्व पनि बदलिन सक्छ ?

रविको सन्देश: गलत नीति मात्रै कि नेतृत्व पनि बदलिन सक्छ ?
  • २ श्रावण २०८३, शनिबार २०:३४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका निर्णय व्यवहारमा जनताको हितविपरीत गए तत्काल सच्याउन सकिने बताएका छन्। रौतहटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारको नियतमा आफूलाई कुनै शङ्का नरहेको स्पष्ट पारे पनि कार्यान्वयनका क्रममा जनतालाई हानि पुग्ने अवस्था सिर्जना भए त्यस्ता निर्णय परिवर्तन गर्न हिच्किचाउन नहुने धारणा राखे।

mulpatra

‘सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसलाई करेक्सन गर्न सकिन्छ। तर नियत खराब भयो भने करेक्सन गर्न गाह्रो हुन्छ,’ भन्दै उनले नीतिको उद्देश्यभन्दा त्यसको व्यवहारिक परिणाम महत्वपूर्ण हुने बताए।

लामिछानेले किसान, मजदुर र निम्न आय भएका नागरिकको हितलाई केन्द्रमा राखेर बनाइएका निर्णयले उल्टै उनीहरूलाई मर्का पार्न थाले त्यस्ता नीति तत्काल संशोधन गर्नुपर्ने बताए। ‘हजारौं निर्णय गर्दा दुई–चारवटा विवादित हुन सक्छन्। किसानकै पक्षमा निर्णय गर्दा पनि व्यवहारमा त्यही निर्णय किसानकै विपक्षमा परिणत हुन सक्छ। त्यसो भयो भने सच्याउनुपर्छ,’ उनले भने।

mulpatra

उनले अझै थप्दै, ‘यसले धेरै ठूलो ड्यामेज गर्‍यो भने त्यसलाई रातारात परिवर्तन पनि गर्नुपर्छ,’ भन्ने अभिव्यक्ति दिए। मादक पदार्थ सेवन (मापसे) जाँचको नीति सुरुमा विवादित भए पनि पछि प्रभावकारी सावित भएको उदाहरण दिँदै उनले केही निर्णयको मूल्याङ्कन समयले गर्ने पनि उल्लेख गरे।

उनको अभिव्यक्तिले सरकार सञ्चालनमा उत्तरदायित्व र लचकताको विषयलाई पुनः चर्चामा ल्याएको छ। लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि नीति अन्तिम हुँदैन, जनताको जीवनमा त्यसको प्रभाव नै सफलताको मापन हुने आधार हो। त्यही कारण नीति सच्याउने उनको सन्देशलाई कतिपयले नेतृत्वको कार्यशैलीप्रति पनि संकेतका रूपमा व्याख्या गरेका छन्।

Image Source: © https://mulpatra.com

यदि कुनै सरकारले लगातार जनअपेक्षाविपरीत निर्णय गर्दै गयो, जनविश्वास गुमायो र संसदीय समर्थन कमजोर बन्यो भने लोकतान्त्रिक प्रणालीमा नेतृत्व परिवर्तन पनि संवैधानिक र राजनीतिक प्रक्रियाको स्वाभाविक विकल्प बन्न सक्छ। यद्यपि, लामिछानेले आफ्नो सम्बोधनमा कुनै व्यक्तिको नेतृत्व परिवर्तनको प्रत्यक्ष माग भने गरेका थिएनन्।

रौतहटमा नयाँ नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै लामिछानेले आफ्नै पार्टीका कार्यकर्तालाई पनि अन्धसमर्थन नगर्न आग्रह गरे। ‘पार्टी गलत बाटोमा गयो भने ताली मात्र नबजाउनुस्, औँला उठाएर खबरदार गर्नुस्,’ उनले भने। मन्त्रालय र मन्त्रीस्तरबाट नागरिकका समस्या समाधान नभए पार्टीले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com