फिफा विश्वकप २०२६स् इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ ले हराउँदै जित्यो तेस्रो स्थान
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि शनिबार (स्थानीय समय) भएको रोमाञ्चक प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ। हार्ड रक स्टेडियममा भएको यो खेल विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल भएको तेस्रो स्थानको खेलका रूपमा पनि दर्ज भएको छ।

इङ्ग्ल्यान्डले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्समाथि ४–० को अग्रता बनाएको थियो। डेक्लान राइस, एज्री कोन्सा र बुकायो साकाले गोल गर्दै फ्रान्सलाई दबाबमा राखेका थिए। पहिलो हाफको इन्जुरी समयमा साकाले व्यक्तिगत दोस्रो गोल गरेपछि इङ्ग्ल्यान्ड सहज अवस्थामा पुगेको थियो।
दोस्रो हाफमा भने फ्रान्सले आक्रामक पुनरागमन गर्ने प्रयास गर्यो। कप्तान किलियन एम्बाप्पेले दुई गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे भने ब्राड्ली बारकोला र उस्मान डेम्बेलेले पनि गोल थपे। एक समय खेल ५–४ को रोमाञ्चक अवस्थासम्म पुगेको थियो। तर अन्तिमतिर जुड बेलिङ्घमले गोल गर्दै इङ्ग्ल्यान्डको जित सुनिश्चित गरे, त्यसअघि साकाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गरेका थिए।

बुकायो साका खेलका नायक बने। उनले ह्याट्रिकसहित इङ्ग्ल्यान्डको जितमा निर्णायक भूमिका खेले। अर्कोतर्फ, फ्रान्सका एम्बाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको कीर्तिमान कायम गरे। उनले प्रतियोगिता १० गोलसहित समाप्त गर्दै गोल्डेन बुटको दौडमा अग्रता कायम राखेका छन्।
यो खेल फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसाँका लागि राष्ट्रिय टोलीको अन्तिम खेल पनि बन्यो। सन् २०१२ देखि फ्रान्सको जिम्मेवारी सम्हालेका उनले टोलीलाई २०१८ को विश्वकप उपाधिसहित विभिन्न सफलतासम्म पुर्याएका थिए। खेलपछि उनले पहिलो हाफको प्रदर्शनलाई ूअस्वीकार्यू भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्।
Image Source: © https://mulpatra.com
यस जितसँगै इङ्ग्ल्यान्डले प्रतियोगिताको सुखद अन्त्य गर्दै तेस्रो स्थान हासिल गरेको छ भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ। अब विश्वकप २०२६ को उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
