Close

Recent Posts

सिङ्गो गाउँ नै लसुन खेतीमा, लसुनबाटै भित्रिन्छ वडामा लाखौँ रकम

सिङ्गो गाउँ नै लसुन खेतीमा, लसुनबाटै भित्रिन्छ वडामा लाखौँ रकम
  • १६ मंसिर २०८०, शनिबार १४:४४

वडालाई आर्थिक रूपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० को सिङ्गो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालभन्दा पहिले वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए । तर २०७५ सालदेखि  व्यावसायिक रूपमा झ्याङका १२ जना किसानले लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङ्गो गाउँ नै लसुन खेतीमा आबद्ध भएको छ । वडाका किसानलाई व्यावसायिक रूपमा लसुन खेतीमा आकर्षित गर्न तथा आर्थिक रूपमा समृद्ध बनाउन वडाले २०७५ सालमा पहिलो पटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । 

mulpatra

त्यसयता वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेको वडा अध्यक्ष धनबहादुर खड्का वसन्तले जानकारी दिनुभयो । ‘‘२०७५ सालसम्म किसानले उत्पादन गरेका लसुन लगायत वडामा उत्पादन हुने तरकारी डोकोमा बोकेर करिब साढे ३ घण्टा हिँडेर जिल्ला सदरमुकाम खलङ्गासम्म लगेर बेच्नु पर्ने बाध्यता किसानलाई थियो, बिस्तारै वडा सडक सञ्जालमा जोडिएपछि भने २०७६ सालबाट वडाबाटै किसानले उत्पादन गरेको लसुन लगायत अन्य उत्पादित तरकारी गाडीमा बजारसम्म जाने गरेको छ’’ वडा  अध्यक्ष खड्काले भन्नुभयो । 

कसरी जाग्यो लसुन खेती गर्ने हुटहुटी 
वडाले पहिलो पटक लसुनको बिउ ५६ जनालाई वितरण गर्‍यो । त्यसमा झाँडारीका नदीराम खड्काले ३० किलो बिउँ पाउनुभयो । र घर अगाडीको गहुँ लगाउने बारीमा लगाउनुभयो । त्यो बारीमा जम्मा १ मुरी गहुँ उत्पादन हुन्थ्यो । २०७५ सालमा गहुँको मूल्य २ हजार मात्र हुन्थ्यो । तर उहाँले सोही बारीमा उत्पादन भएको लसुन ३५ हजारमा बेच्नुभयो । त्यसमा २ क्विन्टल बिउँको लागि राख्नुभयो । २ हजार कमाउने बारीबाट झन्डै ५० हजारको आम्दानी गर्नुभयो । त्यसपछि लसुनबाट राम्रो कमाई हुने देखिएपछि वडाका अरू किसानलाई पनि लसुन खेती गर्ने ऊर्जा थपियो र हुटहुटी जाग्यो । अहिले गाउँ नै लसुन खेतीमा आकर्षित भएको छ । सबैको बारीमा कमै भए पनि लसुन खेती देख्न सकिन्छ । पुरानो किसानको रूपमा भने झुपलाल खड्का परिचित हुनुहुन्छ । उहाँले नै वडामा सबैभन्दा पहिले लसुन खेती सुरुवात गर्नुभएको हो । 

mulpatra mulpatra mulpatra
Lasun1698898068.jpg

वडाको सिङ्गो गाउँ नै लसुन खेतीमा आबद्ध
२०७५ सालमा झ्याङ र नमुना बस्ती टोलबाट व्यावसायिक रूपमा लसुन खेती सुरु भएपछि हाल वडाको सबै टोलका किसानले लसुन खेती गरिरहेका छन् । वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर किसानलाई विभिन्न अनुदान कार्यक्रम मार्फत बिउँ वितरण गर्दै आएको छ । वडाको खड्का टोल, कामी बुढा टोल, गलमपाटी टोल र भेरीखोला टोल गरेर २ सय ४७ घरधुरीलाई यो वर्षको लागि ४८ क्विन्टल अर्थात् ४ हजार ८ सय किलो लसुनको बिउ अनुदानमा वितरण गरिएको छ । सुरुमा खड्का टोल र कामी बुढा टोलको चौरमा कमै मात्रामा लसुन खेती गरिएको थियो । त्यति वेला प्रतिकिलो ८५ रुपैयाँका दरले लसुन डोकोमा बोकेर पाँच घण्टा हिँडेर बेच्न जानुपर्ने बाध्यता थियो । अहिले वडाबाटै लसुन विक्री हुने र राम्रो आम्दानी हुने भएपछि वडा नै लसुन खेतीमा आबद्ध छ । वडाबाट पहिलो पटक २०७६ सालमा उत्पादन भएको २ सय ५० क्विन्टल लसुन गाडी मार्फत दाङ पठाइएको थियो । किसानले उत्पादन गरेको लसुन त्यति वेला प्रतिकिलो ८५ देखि ९० रुपैयाँसम्ममा विक्री भएको थियो । त्यति बेला २१ लाख २५ हजार रकम वडामा भित्रिएको थियो । गत वर्ष मात्रै वडाले ५ सय क्विन्टल लसुन जिल्ला बाहिर पठाएको छ । ५ सय क्विन्टलबाट वडामा गत वर्ष मात्रै आधा  करोड रकम किसानको हातमा परेको छ । 

krisak1698896410.jpg
लसुन ग्रेडिङ गर्दै किसान ।

कति कमाउँछन् किसान ? 
प्रत्येक किसानले एक सिजनमा कम्तीमा १३ क्विन्टल अर्थात् १३ सय केजी लसुन विक्री गर्ने गरेका छन् । उत्पादन भने त्यो भन्दा बढी गर्ने गरेका छन् । बाँकी लसुन बिउको लागि राख्ने गरिएको छ । उत्पादित लसुन प्रतिकिलो १ सय देखि १ सय १० सम्म गाउँबाटै विक्री हुँदै आएको छ । हरेक सिजनमा किसानले लसुन विक्री गरेर १ लाख देखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्ष मात्रै वडाले ५ सय क्विन्टल लसुन जिल्ला बाहिर पठाएको छ । ५ सय क्विन्टलबाट वडामा गत वर्ष मात्रै आधा करोड रकम किसानको हातमा परेको छ । 

लसुन खेतीको सपना देखाउने झ्याङ टोल
सर्वप्रथम मुसिकोट नगरपालिका वडा नम्बर १० को झ्याङ बस्तीको खड्का टोलबाट लसुन खेती सुरु भएको थियो । वडाले अनुदानमा लसुन वितरण कार्यक्रम सञ्चालन नगर्दै फाट्टफुट्ट लसुन खेती गर्ने गरिएको थियो । त्यहाँ लसुनको उत्पादन राम्रो देखिएपछि वडामै लसुन उत्पादन गर्ने लहर सुरु भएको थियो । आम्दानी धेरै हुने भएपछि हालसम्म आइपुग्दा वडाको सिङ्गो गाउँ नै अन्य खेतीपाती छोडेर लसुन खेतीमा नै आबद्ध छ । लसुन उत्पादनको सपना देखाउने  झ्याङ टोलमा लसुन पार्क समेत निर्माण गरिएको छ । २२ घरधुरी भएको झ्याङ गाउँ बिचको सार्वजनिक ठाउँमा लसुनको प्रतिमा सहितको निर्माण गरिएको हो । ‘‘गाउँमा छलफल गर्न, गर्न बैठक बस्न तथा गाउँमा हुने विभिन्न गतिविधि गर्न सार्वजनिक ठाउँ आवश्यक परेको थियो, सार्वजनिक चौतारी बनाउनु पर्ने थियो, १० लाख बजेट खर्चेर चौतारी सहितको लसुन पार्क निर्माण गरिएको हो’ वडा अध्यक्ष खड्काले भन्नुभयो । सबैभन्दा पहिला लसुन उत्पादन गर्ने टोल भएकाले झ्याङमा पछिसम्म इतिहास रहोस् भनेर लसुन पार्क निर्माण गरिएको उहाँले बताउनुभयो । 

Image Source: © https://mulpatra.com

Jhyan Gaun1698896002.png
सबैभन्दा बढी लसुन खेती हुने झ्याङ गाउँ ।

लसुन खेती बढ्न थालेपछि सिँचाईमा जोड 
वडामा लसुन खेतीको उत्पादन बढ्न थालेपछि वडाले सिँचाईमा जोड दिएको छ । सिँचाइको अभाव नहोस् भनेर सिँचाइमा जोड दिइएको वडाको भनाई छ । झ्याङ टोलमा साना सिँचाई आयोजना मार्फत सिँचाई आयाेजना सञ्चालनमा रहेकोले किसानलाई सिँचाइको समस्या छैन । नमुनावस्ती टोलमा सिँचाइको अभाव नहोस् भनेर कृषि उत्पादन बढाउन गत वर्ष ३० लाखमा काम भएको थियो । सबै वडामा सिँचाइको व्यवस्था गर्न योजना बनाइएको वडाले जनाएको छ ।

Lasun Park1698895578.jpg
झ्याङ गाउँमा निर्माण गरिएकाे लसुन पार्क ।

लसुन लिन व्यापारी गाउँमै पुग्छन् 
२०७६ सालमा पहिलो पटक व्यापारी वडामा बोलाएर वडामा उत्पादन भएको करिब २५० क्विन्टल दाङ पठाइएको थियो । त्यसयता प्रत्येक वर्ष लसुन खरिद गर्न व्यापारी गाउँमै पुग्ने गरेका छन् । लसुन लिन व्यापारीको प्रतिस्पर्धा समेत हुने गरेको छ । लसुन पाउन मुस्किल भएपछि व्यापारीले अग्रिम रकम समेत उपलब्ध गराउने गरेका छन् । ‘लसुन बारीबाट निकाल्नु भन्दा १, २ महिना पहिले नै पुगेर व्यापारीले अग्रिम १० देखि २० हजारसम्म बुझाउने गरेका छन्, किसानले अरू व्यापारीलाई लसुन दिन्छन् भन्ने डरले अग्रिम रुपैयाँसँगै लसुन राख्नको लागि बोरा समेत छोड्ने गरेका छन्’ अध्यक्ष खड्काले भन्नुभयो । 

Lasun Niryat1698896624.jpg
वडामा उत्पादित लसुन जिल्ला बाहिर पठाइदै ।

बजारको समस्या छैन, बरु जिल्ला बाहिरबाट बिउँको माग बढ्न थालेको छ
वडामा जतिसुकै लसुन उत्पादन भए पनि बजारको समस्या नरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । वडामै व्यापारीहरू आउने गरेका छन् । किसानलाई लसुन कहाँ विक्री गरौँ भन्ने छैन । वडाबाटै व्यापारीहरूले खरिद गर्ने गरेका छन् । बिउँको लागि रुकुम पूर्व, सल्यान, जाजरकोट र रोल्पाबाट समेत माग हुने गरेको छ । बजारको चिन्ता भन्दा पनि उत्पादन कसरी बढाउने भन्ने कुराको चिन्ता छ । यो साल वडालाई लसुन पकेट क्षेत्र घोषणा गरिएको छ । रासायनिक मल प्रयोग नगरेर अर्ग्यानिक उत्पादन गर्ने र वडालाई अर्ग्यानिक उत्पादनको रूपमा घोषणा गर्ने लक्ष्य वडाले लिएको छ । बिउँको माग धेरै हुने भएकाले यो वर्ष कर्णाली प्रदेश सरकारको मसला वाली विकास ब्लक  पकेट कार्यक्रम अन्तर्गत किसानलाई  ५० प्रतिशत अनुदानमा वितरण गरिएको ४८ क्विन्टल बिउँको उत्पादन अर्को वर्षको लागि बिउँको लागि राखिने छ । बाँकी लसुन भने बिक्री गरिने छ । 

किसानलाई व्यावसायिक बनाउन तालिम 
लसुन खेतीमा किसानलाई आकर्षित गर्न र व्यावसायिक बनाउन वडाले किसानलाई तालिम दिने योजना बनाएको छ । लसुन तथा अलैँची पकेट क्षेत्रको लागि ५ लाख बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट वडामा कृषि प्राविधिक समूहलाई बोलाएर उत्पादन कसरी बढाउने, व्यावसायिक रूपमा खेती कसरी गर्ने, उत्पादन भएको लसुनलाई कसरी ग्रेडिङ गर्ने, बजारमा गुणस्तरीय लसुन कसरी पठाउन सकिन्छ भन्ने लगायतका विषमा प्राविधिक ज्ञानको लागि  किसानलाई  तालिम दिने वडाको योजना छ । 
 

risak samman1698896799.jpg
वडाकाे पहिलाे व्यवसायिक र धेरै लसुन उत्पादन गर्ने कृषक झुपलाल खड्कालाई सम्मान गर्दै वडाध्यक्ष धनबहादुर खड्का ।


वडाबाटै लसुनको जात छुट्याउने तयारी 
लसुन उत्पादन गरे पनि कुन जातको लसुन उत्पादन गरिएको छ  भने कुरा थाहा छैन । ‘नेपालमा लसुनको अध्ययन नभएकाले समस्या छ, चीनबाट आएको लसुन उत्पादन गर्छौँ तर कुन जातको हो भन्ने थाहा छैन, यस पटक चाहिँ मसला बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर यही वडाबाट लसुनको जात छुट्टाएर नामकरण गर्छौ’ वडा अध्यक्ष खड्काले भन्नुभयो ।

वडाले सहयोग गरेपछि हौसला मिलेको छ
वडाले बिउ तथा बजारमा सहयोग गरेपछि वडाका किसानले हौसला मिलेको बताएका छन् । वडाले बिउँ वितरण, उत्कृष्ट किसानलाई पुरस्कृत तथा बजार व्यवस्थापनमा पनि राम्रो सहयोग गरेकाले थप ऊर्जा तपिएको अगुवा लसुन उत्पादक कृषक झुपलाल खड्काले बताउनुभयो । बजारको समस्या छैन लसुन खेतीमा खुसी छौँ, अर्का किसान नदीराम खड्काले भन्नुभयो । 

चुनौती भनेकै गुणस्तरीय उत्पादन गर्नु   
वडालाई आर्थिक रूपमा समृद्ध बनाउन इच्छा शक्तिको आवश्यकता छ । त्यो इच्छा शक्ति आफूले देखाउने हो । किसानले मिहिनेत गरेर लागेपछि जतिसक्दो उत्पादन बढाउने हो । समग्रमा वडालाई आर्थिक रूपमा सम्पन्न कसरी बनाउने भन्ने नै हाम्रा सामु मुख्य चुनौती छ ।  चुनौती भनकै इच्छा शक्ति  हो । किसानले उत्पादन गरेको कृषि उपज खेर जान नदिने गरी लागि परेका छौँ । व्यापारीसँग समन्वय गरिरहेका छौँ । बजारमा करोडौँ मूल्यको लसुन देश बाहिरबाट आइरहेको छ । बजारको चुनौती छैन । चुनौती भनेको राम्रो उत्पादन दिन सक्नु, व्यापारीसँग बदमासी नगर्ने नै हो । वडाको ६० प्रतिशत भूभागमा सिँचाई सुविधा रहेको छ । लसुनलाई धेरै सिँचाई पनि आवश्यक नपर्ने भएकोले सिँचाइको समस्या छैन । 

Basanta Khadka1698901045.jpg
वडाध्यक्ष धनबहादुर खड्का ।

वडामा लसुन खेती गर्ने मध्येका पुराना किसानको रूपमा परिचय बनाउनुभएका झ्याङका ७१ वर्षीय झुपलाल खड्का अहिले पनि लसुन खेतीमै आबद्ध हुनुहुन्छ । उहाँले २०६२/०६३ सालबाट  लसुन खेती गर्न थाल्नुभएको थियो । सुरुमा कमै मात्रमा खेती गरे पनि हाल भने व्यावसायिक रूपमा खेती गर्दै आउनुभएको छ । खड्काले यो साल पनि १० क्विन्टल उत्पादन गर्नुभएकाे छ भने डेढ क्विन्टल बिउ राेप्नुभएकाे छ । लसुनबाट राम्रो आम्दानी हुन्छ एक सिजनमा डेढ लाख देखि दुई लाखसम्म कमाई हुने गरेको छ । अन्य खेतीभन्दा लसुन खेतीमा राम्रो उत्पादन र कमाई छ । त्यस कारण किसान लसुन खेतीमा आकर्षित छन् ।  वडाध्यक्ष धनबहादुर खड्कासँगको कुराकानीमा आधारित ।

Lasun Biu1698899315.jpg
किसानलाई अनुदानमा वितरण गरिदै ।

बलेन्द्र ओली: कखरा ।