लाइटरको तस्करीमा ठुला उद्योगी

नेपालका नाम चलेका उद्योगी व्यवसायीहरु लाइटरको तस्करीमा संलग्न रहेको खुलासा भएको छ। उनीहरुले चीनबाट तातोपानी नाका हुँदै लाइटर आयात गरेर चोरबाट भारत पुर्याउने गरेको खुलेको हो ।
भारत सरकारले गत जुन ३० देखि भारु २० रुपैयाँ भन्दा कम मूल्यको लाइटरको आयातमा प्रतिबन्ध लगाएको थियो । भारतले प्रतिबन्ध लगाएपछि नेपालको बाटो हुँदै तस्करी गरेर सस्तो मूल्यको लाइटर नेपालसँग सीमा जोडिएका बिहार लगायतका राज्यमा पुर्याइने गरेको खुलेको हो ।
सस्तो मूल्यको लाइटर अभाव भएकोले चोरबाटो बाट सडक मार्ग हुँदै नेपालबाट सस्तो मूल्यको लाइटर भारत पुर्याइने गरेको खुलेको हो । स्रोतका अनुसार हालसम्म उद्योगी व्यवासायीले १४ करोड वटा लाइटर तस्करीको बाटो हुँदै भारत पुर्याईसकेका छन् । अन्य २ सय ट्रक लाइटर अझै पाईपलाइनमा रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार यसरी लाइटर भारत पुर्याउनेमा नेपालका नाम चलेका उद्योगी व्यवसायी संलग्न रहेका छन् ।
लाइटर तस्करी हुने प्रमुख नाकामा विरगंज, विराटनगर र झापाको काकरभिट्टा भएको श्रोतको दावी छ । काकरभिट्टाका एक व्यवसायीका अनुसार दैनिक हजारौ काटुन लाइटर भन्सार र प्रहरी कार्यालयको नजिकैबाट खोला तारेर लाने गरिएको र काकरभिट्टा प्रमुख बजारमै गोदाम गरि राख्दा पनि सम्बन्धीत निकाय मुकदर्शक भएको गुनासो छ ।
भारतीय दुतावासले तस्करीको सूचना पाएपछि यसबारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई आग्रह गरेपछि यस तस्करीको घटना बाहिर आएको हो । स्रोतका अनुसार राजश्व अनुसन्धान विभागले यसबारे अनुसन्धान सुरु गरिसकेको छ ।