१४ लाख तिरेर रूस जान्छन् नेपाली युवा

१४ लाख तिरेर रूस जान्छन् नेपाली युवा
  • २५ मंसिर २०८०, सोमबार १४:४२

युद्धग्रस्त देश रूस वैदेशिक रोजगारीमा जान नेपाली युवासँग तस्करीले १४ लाख रुपैयाँसम्म लागत खर्च लिने गरेका छन्। एक वर्षयता नेपाली युवा जोखिम मोलेर विभिन्न माध्यम हुँदै रूस सेनामा भर्ती हुन गइरहेका छन्।

रूसी सेनामा भर्ती हुन जाने युवासँग रोजगार तस्करी, म्यानपावर कम्पनी र एजेन्टले १४ लाख रुपैयाँसम्म लागत खर्च लिइरहेको सूचना पाएको वैदेशिक रोजगार विभागले जनाएको छ। रूसी सेनामा नेपालसहित भारत, थाइल्याण्ड र यूएई हुँदै जाने युवासँग रोजगार तस्करीले १४ लाखसम्म पैसा लिने गरेको उजुरी पर्ने थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए। दाहालका अनुसार ६ महिनायता रूस पठाउने रोजगारीको प्रलोभन देखाएर नेपालभित्र र बाहिर ठगि भइरहेको छ ।

नेपालबाट मात्र होइन, रोजगारदाता देशमा समेत नेपालीहरुलाई रूसी सेनामा भर्ती गराउने भनेर ठगि कार्य भइरहेको सूचना आउने गरेको उनले बताए। ‘तस्करीले युद्वग्रस्त रूस, युक्रेन र अन्य देश व्यक्तिगत भिसामा नेपाली पठाउने काम गरिरहेका छन्। रोजगारीको प्रलोभनमा परी गएका नेपालको मृत्यु समेत हुन् थालेको छ।

यस्तो विकृतिलाई रोक्नुपर्छ।’ उनले भने। सरकारले युद्वग्रस्त देशको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति बन्द गरेको छ। अब धेरै विकृति नियन्त्रण हुँदै जाने उनको दाबी छ। विभागकाअनुसार रूसी सेनाको रोजगारीमा पठाइदिने भन्दै ठगिएका व्यक्तिले ७० वटाभन्दा बढी उजुरी गरेका छन्। उजुरीका लागि आएका पीडितसँग म्यानपावर, एजेन्ट र रोजगार तस्करीले ५ देखि ७ लाख रुपैयाँ प्रोसेसिङका नाममा पैसा लिएको विभागले जनाएको छ।

पछिल्लो समय रूस मात्र होइन नेपाली युवालाई युद्वगस्त देश इजरायल समेत नेपालीहरु पठाउन थालेको विभागले जनाएको छ। यही साता प्रहरीले नेपाली युवालाई रुसी सेनामा भर्ती गराउन सेटिङमार्फत पठाएको आरोपमा १२ जना तस्कारलाई पक्राउ गरेको थियो। यी तस्करीको समूहले नेपालीलाई भारत, यूएई र श्रीलंका हुँदै रुसी सेनामा भर्ती गराउन पठाउने गरेको समेत खुलासा भयो।

तस्करीले ३६ जना युवालाई रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाएर ९ देखि १४ लाख पैसा लिएको प्रहरीले जनाएको छ। रूसी सेनामा मरेका ६ जना नेपाली कसरी त्यही भर्ती भएका थिए भन्ने अहिलेसम्म खुलेको छैन। खाडीका देश र मलेसियामा महिलामाथि दुव्र्यवहार भएपछि ती देशमा जाने महिलाका लागि श्रमस्वीकृति तत्काल बन्द गरिएको थियो। तर, अहिले युद्ध भएको एक वर्षभन्दा धेरै समय भए पनि रुस रोजगारीमा जाने कामदारको व्यक्तिगत र संस्थागत श्रम स्वीकृति गत साता मात्र बन्द गरिएको थियो। जसका कारण रुस रोजगारीमा जाने कामदारको संख्या बढेको पाइन्छ।

वैदेशिक रोजगार विभागको श्रमस्वीकृति प्रतिवेदनमा गत आर्थिक वर्षका सुरुका चार महिनामा सरकारी निकायबाट स्वीकृति लिएर रुस जाने नेपालीको संख्या ५३ जना मात्र थियो। चालु आर्थिक वर्षको ४ महिनामा भने ३ सय ७ जना नेपाली रुस गएको विभागकै तथ्यांकमा उल्लेख छ। यो गत वर्षको तुलनामा ४ सय ७३ प्रतिशत बढी भएको विभागले जनाएको छ।

अघिल्ला गएको ३ आर्थिक वर्षमा रोजगारीका लागि रुस जान श्रमस्वीकृति लिनेको संख्या ५९ जना मात्र थियो। गत वर्ष यो संख्या बढेर ३ सय ८५ जना पुगेको विभागको तथ्यांकमा छ। विगतमा न्यून संख्यामा नेपाली नागरिक रुस जाने गरेकामा युद्ध सुरु भएपछि जानेको संख्या उच्च देखिएको छ। भने,एक वर्षभन्दा बढी समयदेखि युद्धमा होमिएका रुस र युक्रेनी सेनामा भर्ती हुन पुगेका नेपालीले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गदै आएका छन्।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसा र अन्य भिसामा जाने नेपालीलाई कामदारलाई गत वर्षदेखि ‘डिपोर्ट’ गर्दै आएको छ। गत वर्षदेखि भिजिट भिसामा नेपालीहरु कुवेत, यूएई र युरोपका देश बढी जाने गरेको कार्यालयले जनाएको छ। भिजिट भिसामा जाने नेपालीमा शंका लागे उनीहरूलाई फकाइने गरेको कार्यालयका सूचना अधिकारी प्रेम प्रसाद दाहालले जानकारी दिए। पछिल्लो समय रुसको अध्ययागमनले समेत नेपालीहरूलाई फकाउन थालेको छ। कतिपय शंका लागेका व्यक्तिलाई विमानस्थलबाटै फकाउने काम भइरहेको उनले बताए।

सरकारकै कमजोरीका कारण नेपाली युवालाई तस्करले युद्वग्रस्त देश पु¥याउने गरेको रोजगारविज्ञहरुको आरोप छ। युद्वग्रस्त देशमा जाने कामदारका हकमा युद्ध सुरु भएपछि तत्काल श्रम स्वीकृति रोक्न नसक्दा तस्करीको फन्दामा युवा पर्नेगरेको उनीहरुको भनाइ छ।