विद्यार्थीसँगै वार्षिक अबौं पैसा विदेशीँदै

एक दशकयता वैदेशिक अध्ययनमा नेपाली विद्यार्थीको रुची बढेको छ। कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थी सुरक्षित भविष्यको खोजिमा विभिन्न देशका विश्वविद्यालयमा अध्ययन गर्न जाने थालेका छन्। जसका कारण नेपालका सरकारी तथा निजी विश्वविद्यालयमा विद्यार्थीको अभाव देखिन थालेको छ। विगत एक दशकमा ७५ वटाभन्दा बढी देश १३ लाख ६७ हजार ७ सय २२ जना नेपाली विद्यार्र्थी अध्ययनका लागि विदेशीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने विदेश अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्यांकमा छ। एनओसी शाखाका अनुसार वार्षिक करिब एक लाख २० हजारभन्दा बढी विद्यार्थी अध्ययनका लागि बाहिरिने गरेका छन्। दुई वर्षयता अध्ययनका लागि दैनिक ५ सय जनाभन्दा बढी विद्यार्थी बाहिरिने गरेको र ७ सयभन्दा बढीले दैनिक एनओसी लिने गरेको शाखाले जनाएको छ। पछिल्लो समय सरकारी र निजी कलेजमा विद्यार्थीको भर्ना संख्या घटेको छ। विद्यार्थी नभएका कारण कतिपय निजी कलेज बन्द हुने अवस्थामा पुगेका छन्। भने, विद्यार्थी नभएका कारण सरकारले कलेजले नयाँ शैक्षिक शत्र समेत सञ्चालन गर्न सकेका छैन। कक्षा १२ उत्तिर्ण गरेका अधिकाशं विद्यार्थी विदेशका शैक्षिक गन्तब्यको खोजीमा छन्। जसका कारण विद्यार्थी बाहिरिएसँगै नेपालका विश्वविद्यालय शिक्षा नै धरापमा पर्ने अवस्थामा पुगेको शिक्षाविज्ञहरुले बताउँन थालेको छ। विद्यार्थी बाहिरिएको विषयमा राज्यको मूल नेतृत्व नै जिम्मेवार बन्नुपर्छ। अवसर सिर्जन गर्ने वातावरण नभए कै कारण अध्ययनका लागि नेपाली विद्यार्थी विकाशित देश जान थालेको पुर्वशिक्षा सचिव महेश दाहाल बताउँछन्। नेपालको शिक्षा सीपसँग जोड्न र सोहीअनुसारको पाठ्यक्रम बनाउन नसक्दा पनि विद्यार्थी पलायन भइरहेको उनको बुझाइ छ। ‘पढाई सकेपछि रोजगारीको अवसर नहुनुले विद्यार्थी विदेश अध्ययनमा जोड गर्छन्। नेपालको राजनीतिक अवस्था, शिक्षा नीति, कलेज महँगी र अध्ययनपछि बेरोजगारी हुने डर विद्यार्थीमा छ।’ उनले भने। नेपालको विश्वविद्यालय शिक्षामा देखिएका समस्या, शिक्षण संस्थामा राजनीतिक प्रवेश, कलेज सञ्चालनमा मनपरी र शिक्षाका नाममा व्यापार समेत भइरहेका कारण विद्यार्थी विदेश नै रोज्न थालेको उनको भनाइ छ। जनशक्तिसँगै पैसा विदेशीन्छ वैदेशिक अध्ययनका लागि विद्यार्थी विदेश जाँदा शिक्षाका नाममा पैसा समेत मासिक रुपमा विदेशीने गरेको छ। चालु आर्थिक वर्षको ५ महिनामा ४९ हजार ४ सय ५४ जना विद्यार्थीले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिइसकेको एनओसी शाखाले जनाएको छ। यो अवधिमा ४२ अर्ब ५० करोड पैसा अध्ययनका नाम विदेशीएको शिक्षा मन्त्रालयले जनाएको छ। गत आर्थिक बर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले विदेश अध्ययनमा जान एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांकमा छ। एनओसी लिएकामध्ये करिब ८० प्रतिशत विद्यार्थी अध्ययनका लागि विदेशी विश्वविद्यालयमा भर्ना भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा छ। अध्ययनका लागि विद्यार्थी विदेश जाँदा अध्ययनको नाममा गत आर्थिक वर्षमा मात्रै १ खर्ब ४२ करोड रुपैयाँ विदेशिएको थियो। पछिल्ला वर्षमा विदेश अध्ययनका लागि जाने विद्यार्थीसँग यसरी पैसा विदेशी रहेको शिक्षा मन्त्रालयकै तथ्यांकमा उल्लेख छ। अध्ययनका लागि विद्यार्थी विदेश जाँदा अध्ययनको नाममा साढे एक खर्ब पैसा विदेशीने गरेको शिक्षा मन्त्रालयको एनओसी शाखाको वार्षिक प्रगति विवरणमा छ। नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्खेल छ। अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढेसँगै देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढेको बैंकको तथ्यांकमा छ। आर्थिक वर्ष २०७८÷७९ मा १ लाख १४ हजार जनाले एनओसी लिएका थिए भने ६८ अर्ब रकम उच्च शिक्षाको नाममा विदेशिएको तथ्यांकले देखाएको छ। भने, आर्थिक बर्ष २०७९÷८० मा १ लाख २२ हजार ५ सय १४ जनाले एनओसी लिन आवेदन दिएका मध्य १२ हजार २ सय ९७ जनाको रद्द भएको शाखाको तथ्यांकमा छ। यो आर्थिक वर्षमा एक खर्ब १२ अर्ब पैसा अध्ययनका नाममा विदेशीएको थियो। यस्तै, कारोना महामारीका कारण केही मुलुकले अनुमति नदिँदा आर्थिक वर्ष २०७७÷७८ मा यो संख्या २९ हजार ४३२ जना थियो। यो वर्ष ४५ अर्ब रुपैयाँ शिक्षाका नाममा विदेशीएको थियो। भने, २०७६÷७७ मा सबैभन्दा धेरै ६३ हजार दुई सय ५९ एनओसी जारी भएका थिए । उक्त वर्ष ४६ अर्ब २४ करोड तीन लाख रुपैयाँ बिदेसिएको थियो । नेपालबाट ७० भन्दा बढी देशमा अध्ययनका लागि विद्यार्थी जाने गरेको शिक्षा मन्त्रालयले जनाएको छ। विदेशमा पढ्दै रोजगारी गर्न सकिने भएका कारण पनि नेपाली विद्यार्थी आकर्षण वैदेशिक अध्ययन भइरहेको शिक्षा मन्त्रालय प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए। नेपालमा गुणस्तरीय शिक्षा नभएर भन्दा पनि अवसरको खोजिमा विदेशिएको भन्न नमिल्ने उनको तर्क छ। धेरै विद्यार्थी सुरक्षित भविष्यको खोजिमा विदेशिएको उनले बताए। ‘नेपाली विद्यार्थी विदेशमा उच्च शिक्षा आर्जन गरेपश्चात अवसर पनि पाएका छन्। तर, देशभित्र विद्यार्थीले भविष्य नदेखेको अनुभूति नभएको होला। हामीले शिक्षालाई रोजगारीसँग जोड्न केही मात्रमा चुकेका छन्।’ उनले भने,‘विदेमा कमाउन पनि सकिने भएपछि उनिहरूको आकर्षण बढेको हो। विदेशमा अध्ययनसँगै पैसा कमाउने आधारपनि छन्। हाम्रो शिक्षाले त्यति पर सोचेको छैन। फरक यति मात्र हो। यो विषयमा पनि अध्ययन गर्नुपर्छ।’ नेपाली विद्यार्थीको रोजाइ विदेशका विश्वविद्यालय हनुको प्रमुख कारण खुला अर्थतन्त्र र ग्लोबल मार्केट नै उनको भनाइ छ। यस्तै, विद्यार्थीले अवसरको सुनिश्चितता नेपालमा भन्दा विदेशमा धेरै देखेको प्रोफेशनल भिजा एण्ड एजुकेसन सर्भिसका निर्देशन सुमन खरेलको बुझाइ छ। विदेशमा अध्ययनसँगै काम र दाम पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढेको उनले बताए। ‘नेपालको शिक्षा नीति कै किचलो, अव्यवाहारिक भएका कारण नेपाली विद्यार्थी विदेश जान थाले। विद्यार्थी मात्र होइन, ठुलो जनशक्ति र पैसा समेत उनीहरूसँग विदेशीँदै छ।’ अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान, बेलायतलगायतमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीको संख्या धेरै रहेको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पलिल्लो समयमा न्युजिल्यान्ड, यूएई, दक्षिण कोरिया, भारत, फ्रान्स, डेनमार्क, चीन, मलेसिया, सिंगापुर र ब्रुनाई लगायतका देशमा समेत नेपाली ठुलो संख्यामा अध्ययनका लागि जाने गरेका छन्। मन्त्रालयको तथ्यांकअनुसार अस्ट्रेलियापछि जापान, क्यानडा, बेलायत, अमेरिका लगायतका देश नेपाली विद्यार्थीको रोजगारीमा पर्ने गरेको छ। यी देश मात्र वार्षिक २० हजार नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन्।