नेप्से घट्दा पनि केही हाइड्रोपावरमा सर्किट लेबलमा कारोबार

नेप्से परिसूचक पछिल्लो उच्च विन्दु २१४१.८७ विन्दुबाट विगत ४ कारोबार दिनमा ७२.९७ विन्दुले घट्दा पनि हरेक दिन हाइड्रोपावर समूहका कुनै न कुनै कम्पनी सर्किट लेभलमा कारोबार भएका छन्।
बिहीबार १ दशमलब ९४ को झिनो विन्दुले बजार घट्दा भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर १० प्रतिशत सर्किट लागेर उकालो लागे । त्यसैगरी अप्पर लहरे खोला हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, रिभर फल्स पावर, पिपल्स पावर र अप्पर हेवा खोला हाइड्रोपावर पनि धेरै बढ्ने उच्च २० कम्पनी भित्र पर्न सफल भएका हाइड्रोपावर कम्पनी हुन ।
गत बुधबार पुस ११ गते नेप्से परिससूचक १७ दशमलब २३ अंकले घट्दा पनि भिजन लुम्बिनी ऊर्जा कमपनी र चिरख्वा हाइड्रोपावर सर्किट लेभलमै कारोबार भएर बन्द भए ।
त्यसैगरी गत आइतबार पुस ८ गते नेप्से परिसूचक २१ दशमलब ०३ अंकले घटेर २ हजार ८८ दशमलब ०७ विन्दुमा बन्द भयो । नेप्से घट्दा पनि सामलिङ पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी, मैलुङ खोला हाइड्रो, चिरख्वा हाइड्रो सकारात्मक सर्किट लेभलमा कारोबार भए भने हिमालयन हाइड्रो, माइखोला हाइड्रोलगायतका कम्पनीहरु ७ प्रतिशतभन्दा बढीले बढेर बन्द भए ।
पुस ५ बुधबार नेप्से परिसूचक ३२.७७ विन्दुले घटदा पनि भर्खर आईपीओ आएको भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावरसँगै मान्डु हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरमा सर्किट लेभलमा कारोबार भए ।
यसरी नेप्से घट्दो ट्रेन्डमा रहे पनि हाइड्रोपावर समूहका केही कम्पनीहरु भने पालैपालो सर्किट लेभलमा कारोबार भइरहेका छन् । हाइड्रोपावर समूहमा धेरै कम्पनी सूचीकृत भइसके पनि थोरै पुँजी भएका कम्पनीको बाहुल्यता छ । केही लगानीकर्ताको समूहले सामूहिक रुपमा शेयर खरिद गरेर त्यस्ता न्यून पुँजी भएका कम्पनीहरुको शेयर खरिदमा राख्दा त्यस्ता कम्पनीहरुमा सर्किट लाग्ने गरेको एक लगानीकर्ताले बताए ।
अहिले शेयर बजारमा दीर्घकालीन लगानीभन्दा भन्दा अल्पकालीन लगानी गर्ने प्रवृत्ति बढेको छ । अल्पकालीन लगानीकर्ता हावी हुँदा हाइड्रोपावर, होटल, उत्पादनमूलक समूह जस्ता थोरै मात्रै पुँजी भएका कम्पनीहरुको बाहुल्यता भएका कम्पनीका शेयरहरु पछिल्लो समय चल्ने गरेको ती लगानीकर्ताले बताए ।
‘लाभांश दिन सक्ने सम्भावना भएका कम्पनीहरु बल्कमा खरिद गरेर त्यस्ता कम्पनीलाई धितो राख्ने अनि त्यसबाट आएको ऋणबाट कम पुँजी भएका कम्पनीहरुमा ट्रेडिङ गर्ने प्रवृत्ति देखिएको छ ।’–लगानीकर्ता एसपी चौलागाईले भने। पछिल्लो समय न्यून पूँजी भएका हाइड्रोपावर, इन्स्योरेन्स, होटलको साथै तत्काल लाभांश दिन नसक्ने न्यु रिपब्लिक मिडियाजस्ता कम्पनी बढ्नुको कारण नै न्यून सप्लाई रहेको उनले बताए ।
लाभांशको हिसाबले हेर्ने हो भने अहिले पनि हाइड्रोपावरको शेयर मूल्य उच्च नै देखिन्छ । नेटवर्थ १ रुपैयाँ भएको दिव्यश्वरी हाइड्रोपावर १ सय ७० रुपैयाँमा कारोबार भइरहेका छ भने त्यस्तै नेटवर्थ नेगेटिभ भएका कम्पनीहरु सर्किट लेभलमा कारोबार भइरहेका छन् ।
बैंक र बिमा बाहेकका कम्पनीहरुको शेयरमा आईपीओ बाँडफाँट भएको तीन वर्षपछि सम्पूर्ण शेयरहरु साधारण शेयर सरह बेच्न पाइन्छ । संस्थापक शेयर पनि सर्वसाधारण सरह बेच्दा केही समय ती कम्पनीका शेयरहरुमा सप्लाई आएर व्यापक रुपमा शेयर मूल्य घट्ने गरेको छ ।
त्यस्तै नकारात्मक नेटवर्थ भएका कमजोर हाइड्रोपावर कम्पनीहरुले पनि धमाधम हकप्रद शेयर प्रस्ताव गरिहेका छन् । हाइड्रोपावरले जथाभावी हकप्रद शेयर प्रस्ताव गर्न थालेपछि हालै मात्र धितोपत्र बोर्डले हाइड्रोपावरको हकप्रदमा केही कडाई गर्ने विषयमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)सँग सम्झौता गरको थियो ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा हाइड्रोपावर कम्पनीको नयाँ परियोजनामा लगानी गर्ने गरी हकप्रद सेयर जारी गर्ने भएमा कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम नरहेको हुनुपर्ने व्यवस्था थपिने सम्झौता भएको थियो । हकप्रद निस्कासनका लागि आयोजनाबाट विद्युत्को व्यापारिक उत्पादन भइसकेको हुनुपर्नेछ । हकप्रद सेयर निष्कासन गर्दा नयाँ परियोजनाको लागि आवश्यक हुने रकम दुई पटकमा उठाउन सक्ने व्यवस्था गर्ने सहमति भएको छ । सेबोन र इप्पानबीच सहमति भइसकेपछि सेबोनले कुनै पनि हाइड्रोपावरलाई हकप्रद निष्काशन अनुमति दिएको छैन । हाइड्रोपावर कम्पनीको हकप्रद शेयरको बाढी केही समय रोकिएकोले पनि लगानीकर्ता हाइड्रोपावरका कम्पनीको झुम्मिएको हुनसक्ने अर्का लगानीकर्ता बाबुराम अर्यालले बताए । यद्यपि विद्युत नियमन आयोगले हकप्रदको आवेदनलाई भटाभट स्वीकृति दिइरहेको छ ।
हाइड्रोपावर कम्पनीको लकिङ पिरियड पुरा गरिसकेका कम्पनीहरुको शेयर संरचना विद्यमान अवस्था र सो को प्रभावका सम्बन्धमा अध्ययन गर्न सेबोनले एक समिति गठन गरेको थियो । सेबोनका सञ्चालक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सह–सचिव फणीन्द्र गौतमको संयोजकत्वमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मा रहेको सो समितिले अहिलेसम्म कुनै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छैन ।
गत बिहीबार सार्वजनिक लेखा समितिले जलविद्युत कम्पनीले आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत लगानीकर्ताको कम्तीमा एकतिहाई शेयर कायम रहने गरी व्यवस्थापन गर्न सेबोनलाई निर्देशन दिएको छ । जलविद्युत लगायतका आयोजना स्थापना गर्दा लगानी गर्ने आधारभूत लगानीकर्ताको लागि तीन वर्षको लकइन अवधि राखिएता पनि त्यस्ता आयोजना निर्माण सम्पन्न नहुँदै र नाफा नदिँदै आधारभूत लगानीकर्ता लकइन अवधि सकिनासाथ शेयर बिक्री गरी बाहिरिने विकृत्तिले आयोजना निर्माण नै प्रभावित हुनुका साथै प्रतिफलसमेत दिन नसकेको देखिएकोले यस्तो निर्देशन दिएको समितिले जनाएको मेरो लगानीमा समाचार प्रकाशित भएको छ ।