रुसी सेनामा १४ सय नेपाली, ३ सयभन्दा बढी घाइते

सात महिनाको अवधिमा १ हजार ४ सय नेपाली रुसी सेनामा भर्ती भएको पाइएको छ। रुसी सेनामा गत जेठ महिनादेखि नेपालीहरु भर्ती हुन थालेको परराष्ट्र मन्त्रालयको अनुमान छ।
नेपालीहरु रुसी सेनामा भर्ती भएको जेठ महिनामा पहिलो पटक टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। त्यसपछि रुसी सेनामा नेपालीहरु भर्ती भइरहेको विषय ससंदमा छलफलको विषय बनेको थियो। भने, केही ससंदहरुले यो विषयमा परारष्ट्र मन्त्रालयसँग आधिकारिक धारण समेत मागेका थिए।
रुसी सेनामा करिब १ हजार ४ सय जना भर्ती भएको अपुष्ट सूचना पाइएको छ। रुस–युक्रेनको युद्वमा ३ सयभन्दा बढी नेपालीहरु घाइते भएको सूचना पाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार रुसी सेनामा अझै पनि नेपाली युवा दोस्रो देश हुँदै गइरहेका छन्। ‘रुसी सेनामा भर्ती भएका नेपालीहरु घाइते भएको सूचना दैनिक आउने गरेको छ। सातामा ३–४ जना नेपाली युद्वका क्रममा बेपत्ता भएको सूचना मन्त्रालयमा आउँछ।’ उनले भने।
रुसी सेनामा भर्ती हुन पुगेका २ हजारभन्दा बढी नेपाली यूएई र रुसमै रहेको सूचना पाएको स्रोतको भनाइ छ। रुसी सेनामा के–कति संख्यामा नेपालीहरु भर्ती भइरहेका छन् भन्ने तथ्यांक अहिलेसम्म नपाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।
रुस–युक्रेनमा नेपालीहरु सेनामा भर्ती भइरहेको सूचना आएपनि त्यहाँ कति संख्यामा छन् भन्ने यकिन नभएको उनी बताउँछन्। ३ देखि ५ सयको संख्यामा नेपाली रुसी सेना भर्ती भएका छन् कि भन्ने अनुमान छ। यो विषयमा मस्कोस्थित नेपाली दूवावासले विवरण लिने र रुसको विदेश तथा रक्षा मन्त्रालयसँग छलफल गरिरहेको प्रवक्ता राईले बताए। रुस सरकारलाई त्यहाँको सेनामा नेपालीलाई भर्ती नगराउन नेपालीस्थित रसियान दूतावासमार्फत पत्राचार समेत गरेको उनले जानकारी दिए। भने, रुस जाने नेपालीको भिसा प्रक्रिया नै बन्द गरेको उनको भनाइ छ।
मंसिर अन्तिममै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा दुई सय नेपाली भर्ती भएको जानकारी संसद्मा गराएका थिए। मस्कोस्थित नेपाली दूतावासले एक हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको र २ जना भन्दा बढी घाइते भएको अनुमान गरेको छ।
गत पुस पहिलो साता परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेना भर्नाका बारेमा काठमाडौँस्थित रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए। उनले नेपालीलाई रुसी सेनामा भर्ती गराउने काम रोक दूतावाससँग आग्रह गरेपनि सेनामा नेपाली भर्ती गराउने प्रक्रिया पनि रोकेको छैन। यो विषयमा रुस सरकारले केही बोलेको छैन। परराष्ट्र मन्त्रालयले रुसी सेनामा कति नेपाली छन्, कति घाइते छन, त्यहाँ सेनामा कार्यरत नेपालीको अवस्था कस्तो, युद्वका क्रममा मृत्यु भएको नेपालीको शव नेपाल पठाउनुपर्ने र घाइते भएको उपचारको बारेमा दुई पटक पत्राचार गरी जानकारी मागेपनि रुसी सरकारले जवाफ नपठाएको परारष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो।
स्रोतकाअनुसार परराष्ट्र मन्त्री साउद नै रुस भ्रमण जाने तयारीमा जुटेका छन्। उनले यो विषयमा प्रधानमन्त्री दाहाल र कांग्रेसका उच्च नेतासँग छलफल समेत गरिरहेका छन्। कुटनीतिक नियममा युद्वग्रस्त देशमा विषेश काम बाहेक भिआइपी भ्रमण गर्न नपाउने व्यवस्था छ। मन्त्री साउदले रुसमा रहेको नेपालीको अवस्था त्यहाँको सुरक्षा निकायसँग छलफल गर्न भ्रमणको तयारीमा लागेको पाइएको छ। सुरक्षाका कारण पनि युद्वग्रस्त देशमा भ्रमण गर्नु उचित नहुने परराष्ट्रविदहरु बताउँछन्।
रुस–युक्रेन युद्धमा ११ जना नेपालीले ज्यान गुमाएका छन्। मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सन्दीप थपलिया (गोरखा), रूपक कार्की (वाणगंगा–१ कपिलवस्तु), देवान राई (कास्की), प्रितम कार्की (पुतलीबजार–५, स्याङ्जा), राजकुमार रोका (मेलुङ–६ दोलखा), गंगाराज मोक्तान (इलाम–५, इलाम), कैलालीको टीकापुर नगरपालिका–१ नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह, राजकुमार गिरी (धादिङ), हरि अर्याल (स्याङ्जा), भरतबहादुर शाह (कैलाली) र कुन्दनसिंह नगल (ठेगाना नखुलेको) को मृत्यु भएको पुष्टि गरेको छ। युद्धमा दुई सयभन्दा बढी नेपाली घाइते भएको दूतवासको अनुमान छ।
पछिल्लो समयमा नेपाली युवा यूएई, कतार, ओमान हुँदै युरोप, अफ्रिका र अमेरिकाजस्ता देश जाने क्रम पनि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकमा छ। एक वर्षयता सबैभन्दा धेरै नेपाली युवा यूएई हुँदै रूसी सेनामा भर्ती हुन पुगेको श्रम मन्त्रालयको अनुमान छ। युरोप जाने नेपाली कामदारमा संस्थागतभन्दा व्यक्तिगत रूपमा धेरै छन्।
वैदेशिक रोजगार विभागका अनुसार पुस १५ सम्ममा युरोपका देश ११ हजार २ सय ५३ जना नेपाली रोजगारीका लागि बाहिरएका छन्। उनीहरूमध्ये ७० प्रतिशत व्यक्तिगत भिसामा गएको वैदेशिक रोजगार विभागले जनाएको छ। श्रम मन्त्रालयले मंसिरदेखि रुसीका लागि श्रम स्वीकृति बन्द गरेको छ। पोल्यान्ड, पोर्चुगल, रोमनिया र सर्बियामा रोजगारीका लागि जाने भनेर श्रम स्वीकृति लिने तर ती देशमा पुगेपछि नेपाली युवा रुस–युक्रेन छिर्ने गरेको मस्कोस्थित नेपाली दूतावासले बताउँदै आएको छ।