नेप्सेमा आठ अरब माथिको कारोबार

काठमाडौं। सेयर बजारमा कारोबारको उछाल आएसँगै दुई वर्षयताकै उच्च कारोबार भएको छ। मंगलबार ८ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भएकोले शेयर लगानीकर्तामाझ उत्साह छाएको छ ।
बैंकको ब्याजदर घटेको, अन्य आर्थिक सुचकहरु समेत अनुकुल बन्दै गएकाले त्यसैको प्रभावस्वरुप नेप्से कारोबारले नयाँ छोएको लगानीकर्ताले बताएका छन । ५४.५४ अंकले नेप्से बढेर २१७५.१७ पुग्दा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो। त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो।
१३ वटै उपसमूहले नेप्से बढाएका हुन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। यो उपसमूहको सूचक ४.७५ प्रतिशतले बढेको हो। यस्तै, लगानी, लघुवित्त र जलविद्युत उपसमूहको सूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। बैंक, विकास बैंक, व्यापार, उत्पादनमूलक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशत भन्दा धेरै उकालो लागेको छ।