बीपी प्रतिष्ठान धरानको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन दिएका हुन् । धरानका मेयर हर्क साम्पाङले उपकुलपतिको कार्यकक्षमा सोमबार तालाबन्दी गरे पछि त्यहाँको विवाद बाहिर आएको थियो ।
